काठमाडौं । ओपनर दिनेश खरेलको अलराउण्ड प्रदर्शनको सहयोगमा विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा फराकिलो जित हासिल गरेको छ ।
मंगलबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबविरुद्ध १८५ रनको फराकिलो जित हात पारेको हो ।
एपिएफले टस जितेर बलिङ रोजे पछि पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३५५ रनको विशाल योगफल तयार गरेको थियो ।
प्रतियोगिताको इतिहासमा बनेको यो सर्वाधिक ठूलो योगफल हो । यसअघि एपिएफले २०१८ को दोस्रो संस्करणमा तत्कालिन प्रदेश नंम्बर २ विरुद्ध ३३९ रनको योगफल तयार गरेको थियो ।
पुलिसका लागि शंकर रानाले सर्वाधिक ६१ रन बनाए । उनले ५४ बलको सामना गरेर ५ चौका र ४ छक्का प्रहार गरे । ओपनर दिनेश खरेल ५२ बलमा ६०, आरिफ शेख ४२ बलमा ५० तथा रशिद खानले ४२ बलमा ४४ रन बनाउँदै आउट भए । दिल्शाद अलि ३० बलमा ५१ रनमा अविजित रहे ।
एपिएफका लागि कमल सिंह ऐरी र अमरसिंह राउटेलाले समान २ तथा कप्तान रोहित पौडेल, नन्दन यादब, युवराज खत्रीले समान १ विकेट लिए ।
३५६ रनको विशाल लक्ष्य पछ्याएको एपिएफले ४४ ओभरमा सबै विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । एपिएफका लागि नन्दन यादवले अविजित रहँदै सर्वाधिक ४४ रन बनाए । उनले ५५ बलको सामना गर्दै ३ चौका र ३ छक्का प्रहार गरे । उनले नवौ विकेटका लागि कमलसिंह ऐरीसँग गरेको ४९ रनको साझेदारी गरे । कमलले ३२ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३५ रन बनाए ।
कप्तान रोहित पौडेल ११, आसिफ शेख १८, सन्दीप जोरा २४ तथा पुरन विक २० रनमा आउट भए । पुलिसका लागि ललित राजवंशीले ३ तथा करण केसी, रशिद खान र दिनेशले समान २ विकेट लिए ।
प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित हात पारेको पुलिसको यो पहिलो जित हो । पुलिस पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । दोस्रो खेलमा एपिएफको भने यो पहिलो हार हो । एपिएफले पहिलो खेलमा बागमती प्रदेशलाई पराजित गरेको थियो ।
प्रतियोगितामा ३ विभागीय (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब) र ७ प्रदेश (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदरपश्चिम) का गरि जम्मा १० टोलीको सहभागीता रहन्छ ।
२८ दिनसम्म चल्ने प्रतियोगितामा फाइनल सहित ४६ खेल आयोजना हुदैछ । लिग चरणमा सबै टोलीले एक आपससँग खेले पछि शीर्ष २ मा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १० लाख पाउँदा उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।
यसपटकको प्रतियोगिता काठमाडौंका २ तथा मधेश प्रदेशका २ क्रिकेट मैदानमा हुदैछन् । काठमाडौंको माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा समान ५ तथा फाइनल सहितका अन्य खेलहरु मधेश प्रदेशको पर्सा र जनकपुरमा हुदैछ ।
