काठमाडौं । उपकप्तान इशान पाण्डेको अलराउण्ड प्रदर्शनको सहयोगमा बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।
मंगलबार तल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले गण्डकी प्रदेशलाई १७० रनले पराजित गरेको हो । उपकप्तान इशानले ब्याटिङ तर्फ ६१ बलमा ७१ रन बनाउँदा बलिङबाट २ विकेट आफ्नो नाममा गरे ।
२९५ रनको लक्ष्य पछ्याएको गण्डकीले खराब ब्याटिङ गर्दा ३१ दशमलब ५ ओभरमा १२४ रनमै अलआउट भयो । गण्डकीका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ७४ रन बनाए । उनले ९० बलको सामना गर्दै ११ चौका प्रहार गरे । सुवास भण्डारी २९ रनमा आउट हुनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बागमतीका लागि रिजन ढकालले ३ तथा इशान र कप्तान सन्दीप लामिछानेले समान २ विकेट लिए । त्यसअघि टस जितेर गण्डकीले बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९४ रनको योगफल तयार गरेको हो ।
बागमतीका लागि उपकप्तान इशान पाण्डेले सर्वाधिक ७१ रन बनाए । उनले ६१ बलमा ४ चौका र २ छक्का प्रहार गरे । ओपनर आशुतोष घिरैया ८७ बलमा ५९ तथा शुभ कंसकार २८ बलमा ४४ रनमा आउट भए । शिभम तिवारी १८ तथा उत्तम थापा मगर ३० र विवेक राना मगर २७ रनमा आउट हुँदा कप्तान सन्दीप लामिछाने २६ रनमा अविजित रहे ।
गण्डकीका लागि कमल परियारले २ तथा विपिन खत्री, अंकित न्यौपाने, सिव्रिन श्रेष्ठ र सुवास भण्डारीले समान १ विकेट लिए ।
दोस्रो खेल पहिलो जित हात पारेको बागमतीको २ खेलमा २ अंक भएको छ । पहिलो खेल खेलेको गण्डकीले हारबाट प्रतियोगिता सुरुवात गरेको छ ।
प्रतियोगितामा ३ विभागीय (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब) र ७ प्रदेश (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदरपश्चिम) का गरि जम्मा १० टोलीको सहभागीता रहन्छ ।
२८ दिनसम्म चल्ने प्रतियोगितामा फाइनल सहित ४६ खेल आयोजना हुदैछ । लिग चरणमा सबै टोलीले एक आपससँग खेले पछि शीर्ष २ मा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १० लाख पाउँदा उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।
यसपटकको प्रतियोगिता काठमाडौंका २ तथा मधेश प्रदेशका २ क्रिकेट मैदानमा हुदैछन् । काठमाडौंको माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा समान ५ तथा फाइनल सहितका अन्य खेलहरु मधेश प्रदेशको पर्सा र जनकपुरमा हुदैछ ।
