काठमाडौं । नेपाली क्रिकेटको इतिहासमा पहिलो पटक ८ नेपाली क्रिकेटरले एउटै लिग खेल्दैछन् ।
नेपालका ८ क्रिकेटरले पहिलो संस्करणको युरोपियन ट्वान्टी २० लिग बेल्जियममा सहभागीता जनाउने भएका हुन् ।
पहिलो पटक यती धेरै नेपाली क्रिकेटरले एउटै विदेशी लिग खेल्न लागेका हुन् । यसअघि २०२४ को ग्लोबल ट्वान्टी २० क्यानडामा नेपालका ३ क्रिकेटरले सहभागीता जनाएका थिए ।
मंगलबार सम्पन्न बेल्जियममा आयोजना हुने लिगको ड्राफ्टबाट जेबी ब्रुजेसमा सर्वाधिक ५ नेपाली क्रिकेटर अनुबन्धन भएका हुन् । नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स र ब्रुजेज एकै स्वामित्वमा रहेको छ ।
शिवनारायण चन्द्रपल मुख्य प्रशिक्षक रहेको टोलीमा ड्राफ्टबाट ललित राजवंशी, इशान पाण्डे, अनिल साह र गुलसन झा अनुबन्ध भएका हुन् । टोली ड्राफ्ट अघि नै दीपेन्द्रसिंह ऐरीलाई अनुबन्ध गराइसकेको थियो ।
ड्राफ्टमार्फत नै नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेल घेन्ट ग्ल्याडीयटर्समा अनुबन्ध हुँदा आसिफ शेख एन्टवर्प एन्कर्समा आबद्ध भएका हुन् ।
यसअघि सन्दीप लामिछानेलाई लिगको टिम लिज रेड लायन्सले ड्राफ्ट अघि नै अनुबन्ध गराइसकेको थियो । ललित, अनिल, इशान, गुलसन, आसिफको यो पहिलो विदेशी लिग अनुभब रहने छ ।
५ टिमको सहभागीता रहको यस लिग ६ देखि १४ जुनसम्म आयोजना हुदैछ ।
