काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रिय सदस्य पुरुषोत्तम थापाले संघको चुनाव रोक्न खोजेको भन्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)विरुद्ध पाटन उच्च अदालतमा अपहेलना मुद्दा दायर गरेका छन् ।
उच्च अदालतले एन्फाको विवादास्पद ‘अर्ली इलेक्सन’ रोक्नु नपर्ने आदेश जारी गरिसकेको जिकिर गर्दै ‘राखेपले अवैधानिक रुपमा चुनाव रोक्न निर्देशन दिएर अदालतको अपहेलना गरेको’ आरोपसहित बुधबार मुद्दा दायर गरेका हुन् ।
उच्च अदालतले भोली थापाको मुद्दामा भोली बिहीबारका लागि पेसी तोकेको छ ।
सरोकारवालाहरुको विरोध तथा राखेपको पटकपटकका निर्देशन विपरित असार ५ गतेसम्म कार्यकाल रहेको एन्फाले एन्फाले यही चैत १३ गते शुक्रबार झापामा आगामी चार वर्षे कार्यकालका लागि चुनाव गर्ने तयारी गरिरहेको छ ।
एन्फाले जिल्ला फुटबल संघको चुनाव नगरि चार वर्ष अगाडीकै प्रतिनिधिलाई मताधिकार दिएर थप चार वर्षका लागि अनुमोदित हुने रणनीतिअनुसार माघ २८ मै चुनाव गर्न खोजेपछि सरोकारवालाहरुले त्यसको विरुद्धमा राखेपमा उजुरी तथा तथा अदालतमा मुद्धा दायर गरेका थिए ।
सरोकारवालाहरुले पहिला जिल्लाको चुनाव गरेर नयाँ प्रतिनिधिहरुबाट केन्द्रको चुनाव गर्नुपर्ने माग राखेका थिए । त्यहीअनुरुप ‘पहिला जिल्लाको चुनाव गरि विधानसम्मत केन्द्रको चुनाव गर्नु’ भन्दै आएको थियो ।
तर एन्फाले त्यसको निरन्तर अटेर गरेपछि राखेपले चैत ५ गते चुनाव स्थगित गरि ३ दिनभित्र लिखित जानकारी गराउन निर्देशन दिएको थियो । त्यसको जवाफमा एन्फाले ८ गते अदालतले रोक्नु नपर्ने भनेको, फिफा र एन्फाको विधानअनुसार चुनाव रोक्नुनपर्ने भएको भन्दै रोक्न नसकिने भन्दै पत्र पठाएको थियो ।
आफ्नो निर्देशनविपरित एन्फाले जवरजस्ती चुनाव गर्न लागेपछि राखेपले ‘किन त्यसो गरेको’ भन्दै मंगलबार २४ घण्टे स्पष्टीकरण काटेको थियो । एन्फाले त्यसको जवाफ अदालतमा मुद्दा दायर गरेरदिएको छ ।
राखेपले २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआए ‘कानून बमोजिम’ कार्वाही गर्ने तयारी गरिरहेको सदस्यसचिव रामचरित्र मेहताले बताएका छन् ।
राखेपको कारवाही भन्नाले एन्फामाथि निलम्बन वा चुनाव रोक्ने हुनसक्ने बुझ्नु पर्ने राखेपका एक वरिष्ठ पदाधिकारीले खेलाडी डटकमलाई बताए ।
अदालतमा यही विषयमा अझै पनि थुप्रै मुद्दा विचाराधिन छ ।
