काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै ‘अर्ली इलेक्सन’ आफ्नो अधिकारभित्र पर्ने भन्दै कुनै पनि हालतमा चुनाव नरोकिने स्पष्ट पारेको छ ।
एन्फाले आफू खेलकुद ऐन, फिफा र एफसीका नियम तथा आफ्नै विधानअनुसार सञ्चालन हुने स्वायत्त निकाय भएकाले राखेपले कुनै पनि खालको कार्बाही गर्न नमिल्ने दाबी गरेको छ । एन्फाले राखेपबाट कुनै पनि प्रकारको हस्तक्षेप भए त्यसलाई तेस्रो पक्षको हस्तक्षेप मानिने र त्यसको परिणामस्वरुप फिफा र एएफसीबाट कार्बाही भई नेपाली फुटबल अन्तर्राष्ट्रिय मञ्चबाट बाहिरिन सक्ने चेतावनी समेत दिएको छ ।
त्यस्तै राखेपको निर्णय नमानेको भन्ने एन्फामाथिको आरोप पूर्ण रुपमा निराधार भएको बताएको छ । यसैगरी चैत १३ मा निर्वाचन नगरे फिफा र एएफसीले निलम्बन गर्ने चेतावनी दिइसक्नुका साथै राखेपले लेखेका सबै पत्रको जवाफ दिएको लगायतको परिस्थितिमा एन्फामाथि कुनै पनि खालको कार्बाही अथवा निलम्बन गर्ने अनुरोध गरिएको छ । साथै एन्फाले चुनावमा प्रतिनिधि पठाई सहयोग गर्न आह्वान गरेको छ ।
आगामी असार ५ गतेसम्म कार्यकाल रहे पनि एन्फा नेतृत्वले पाँच महिना अगाडि नै माघ २८ मा ‘अर्ली इलेक्सन’ गर्ने तयारी गरेको थियो । एन्फा नेतृत्वले जिल्ला फुटबल संघमा नयाँ चुनाव नगरि चार वर्षअघिकै जिल्ला प्रतिनिधिलाई मताधिकार दिएर थप चार वर्षका लागि केन्द्रमा अनुमोदित हुने रणनीति लिएको थियो ।
त्यसको विरोधमा सरोकारवालाहरुले पहिला जिल्लाको चुनाव गरेर प्रतिनिधि छान्नुपर्ने, त्यसपछि मात्र केन्द्रको चुनाव हुनुपर्ने भन्दै राखेप, युवा तथा खेलकुद मन्त्रालय, फिफा र एएफसी तथा अदालतमा मुद्धा दायर गरेका थिए ।
सरोकारवालाको मुद्धामा पाटन उच्च अदालतले पुष २८ गते स्टे अर्डर जारी गरेर चुनावी प्रक्रिया तत्काल रोक्न आदेश दिएको थियो । तर एन्फाले माघ ३ को समयसिमामा उम्मेदवारी दर्तासम्मको सबै प्रक्रिया सकेर माघ ६ गते निर्वाचनका सबै प्रक्रिया स्थगित गरेको सूचना जारी गरेको थियो ।
अदालतले माघ २७ गते चुनाव स्थगनका लागि जारी गरेको स्टे अर्डर खारेज गरेपछि एन्फाले चुनावको परिमार्जित कार्यतालिका बनाएर फागुन १ बाट प्रक्रिया पुन सुरु गरेको थियो । नयाँ कार्यतालिकाअनुसार माघ २७ को लागि नयाँ मिति तय गरेको थियो ।
फागुन २१ गते आम निर्वाचनको तयारीमा रहेको निर्वाचन आयोगले एन्फालाई तत्काल चुनाव नगर्न निर्देशन दियो । जसले फेरि एन्फाको चुनाव स्थगित भयो ।
आम चुनाव सकिएर नतिजा आइनपुग्दै एन्फाले फेरि त्यसलाई नयाँ मिति तय गर्दै चैत १३ गतेलाई चुनाव राख्यो । त्यसको विरुद्ध पनि अदालतमा थप नयाँ मुद्धा परेका छन् । उपाध्यक्ष विराटजंग शाहीलगायतले अदालतको आदेशका कारण आफ्नो उम्मेदवारी दिने अधिकार हनन भएको भन्दै त्यही अदालतमा मुद्धा दायर गरेका छन् ।
राखेप भने सुरुदेखि नै ‘अर्ली इलेक्सन’को प्रक्रियासँग सहमत थिएन । राखेपले सुरुमै एन्फालाई जिल्लादेखि तहगत निर्वाचन गरेर मात्र केन्द्रको चुनाव गर्न निर्देशन दिएको थियो ।
तर एन्फाले त्यसको अटेर गर्ने क्रममा पटकपटकका पत्रलाई समेत बेवास्था गर्दै चैत १३ मा चुनाव गर्न खोजेपछि राखेपले बिहीबार एन्फालाई चुनाव स्थगित गरेर जानकारी गराउन तीन दिने अल्टिमेटम दिएको थियो । त्यसको जवाफमा एन्फाले कुनै पनि हालतमा चुनाव रोक्न नसक्ने भन्ने जवाफ दिएपछि राखेपले २४ घण्टे स्पष्टीकरणको माग गरेको थियो ।


