काठमाडौं । अरनिको यादवको अलराउण्ड प्रदर्शनको सहयोगमा मधेश प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हात पारेको छ ।
बुधबार जनकपुरमा सम्पन्न खेलमा मधेशले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गरेको हो । मधेशको जितमा अरनिकोले बलिङमा ३ महत्वपुर्ण विकेट लिए भने ब्याटिङ तर्फ अविजित रहँदै सर्वाधिक ४६ रन बनाए ।
सुदूरपश्चिमले दिएको १६१ रनको लक्ष्य मधेशले ३३ दशमलब ४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । मधेशका लागि अरनिकोले अविजित रहँदै सर्वाधिक ४६ रन बनाए । उनले ७८ बलको सामना गदै ९ चौका प्रहार गरे । मोहममद आदिल आलम ३४, पवन सरार्फ २१ तथा कप्तान अनिल साह तथा मयन यादव समान १३ रनमा आउट भए ।
सुदूरका लागि अशोक धामीले ३ तथा कप्तान शेर मल्लले २ विकेट लिए । त्यसअघि वीरगञ्जको नारायणी क्रिकेट मैदानमा मधेशले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदुरले ४३ दशमलब २ ओभरमा सबै विकेट गुमाएर १६० रनको योगफल तयार गरेको थियो ।
सुदूरका ओपनर अभिषेक पाल सर्वाधिक ३३ रनमा आउट भए । उनले ४५ बल खेलेर ५ चौका सहित ३३ रन बनाए । अर्का ओपनर राजु रिजाल ९ , खड्ग बोहरा ७ र किरण ठगुन्ना र नारायण जोशीले समान २३ रनमा आउट हुँदा अशोक धामी १९ रनमा अविजित रहे ।
मधेशका लागि बलिङमा अरनिको यादवले ३, प्रदीप पासवानले २ विकेट आफ्नो नाममा गरे । पहिलो खेलमा कोशी प्रदेशसँग अंक बाडेको मधेशको २ खेलबाट ३ अंक भएको छ । सुदूर भने दोस्रो खेलमा पहिलो पटक पराजित भएको हो उसले पहिलो खेलमा कर्णाली प्रदेशलाई पराजित गरेको थियो ।
प्रतियोगितामा ३ विभागीय (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब) र ७ प्रदेश (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदरपश्चिम) का गरि जम्मा १० टोलीको सहभागीता रहन्छ ।
२८ दिनसम्म चल्ने प्रतियोगितामा फाइनल सहित ४६ खेल आयोजना हुदैछ । लिग चरणमा सबै टोलीले एक आपससँग खेले पछि शीर्ष २ मा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १० लाख पाउँदा उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।
यसपटकको प्रतियोगिता काठमाडौंका २ तथा मधेश प्रदेशका २ क्रिकेट मैदानमा हुदैछन् । काठमाडौंको माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा समान ५ तथा फाइनल सहितका अन्य खेलहरु मधेश प्रदेशको पर्सा र जनकपुरमा हुदैछ ।
