काठमाडौं । तीव्रगतिका बलर दिनेश अधिकारीले ५ विकेट हात पारेपछि कर्णाली प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।
पहिलो जित हात पार्ने क्रममा कर्णालीले बुधबार सम्पन्न खेलमा कोशी प्रदेशमाथि १६ रनको जित हात पारेको हो । १५२ रनको लक्ष्य पछ्याएको कोशी ४४ दशमलब ४ ओभरमा १३५ रनमा अल आउट भयो ।
कोशीका लागि दिपेश कँडेलले ६६ बलमा सर्वाधिक २६ रन बनाए । शिवान्स बजगाई २३, शाकिब हक र अंकित सुवेदी समान १७ तथा सुमन श्रेष्ठ २० रनमा आउट भए । कर्णालीका लागि दिनेश अधिकारीले ५ तथा दिवान पुन र प्रकाश जैशीले समान २ विकेट लिए ।
त्यसअघि विरगन्जको टिबी साह क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले मात्र ३९ दशमलब १ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनायो ।
कर्णालीका विपिन शाहीले सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ खेले । उनले ९८ बलको सामना गर्दै ८ चौका प्रहार गरे । चौथो विकेटका लागि विपिन रावलसँग मिलेर विपिनले ६५ रनको साझेदारी गरे । विपिन रावल ३२ रनमा आउट भएपछि विकेट पतनको शीलशीला जारी रहयो। कप्तान दिवान पुनले १० रन बनाए ।
कोशीका लागि बलिङमा प्रेम कामतले ४, ज्ञानेन्द्र श्रेष्ठले ३ तथा सुजन थपलियाले २ विकेट आफ्नो नाममा गराए । पहिलो खेलमा लुम्बिनी प्रदेशसँग अंक बाडेको कर्णाली दोस्रो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो । कर्णाली पहिलो जितसँगै ३ खेलबाट ३ अंक भएको छ । तेस्रो खेलमा कोशीको १ अंक रहेको छ ।
प्रतियोगितामा ३ विभागीय (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब) र ७ प्रदेश (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदरपश्चिम) का गरि जम्मा १० टोलीको सहभागीता रहन्छ ।
२८ दिनसम्म चल्ने प्रतियोगितामा फाइनल सहित ४६ खेल आयोजना हुदैछ । लिग चरणमा सबै टोलीले एक आपससँग खेले पछि शीर्ष २ मा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १० लाख पाउँदा उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।
यसपटकको प्रतियोगिता काठमाडौंका २ तथा मधेश प्रदेशका २ क्रिकेट मैदानमा हुदैछन् । काठमाडौंको माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा समान ५ तथा फाइनल सहितका अन्य खेलहरु मधेश प्रदेशको पर्सा र जनकपुरमा हुदैछ ।
