काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई शुक्रबारका लागि तय भएको निर्वाचन रोक्न दिएको निर्देशन नमान्नुको कारण माग्दै पठाएको स्पष्टीकरणको जवाफ कुर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) प्रतिक्षामा छ ।
राखेपले हिजो मंगलबार दिउसो ३ बजे एन्फालाई विवादास्पद ‘अर्ली इलेक्सन’ नरोक्नुको कारण माग गर्दै २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
तर राखेपले स्पष्टीकरण सोध्ने सुइको पाएपछि एन्फाले मंगलबार बिहानै सूचना जारी गरेर चुनावको तयारीका लागि भन्दै सचिवालय बन्द गरेको थियो ।
एन्फाका पदाधिकारी तथा मुख्य कर्मचारीहरुको अनुपस्थितिमा राखेपका प्रतिनिधिले स्पष्टीकरणपत्र एन्फामा दर्ता गर्न पाएका थिएनन् । कार्यालयमा उपस्थित कर्मचारी तथा सुरक्षाकर्मीहरुले पनि पत्र बुझ्न नमानेपछि कार्यालयमा पत्र टाँस गरिएको थियो ।
स्पष्टीकरणको लागि दिइएको २४ घण्टाको समय सकिएपछि कस्तो कदम चाल्ने भन्ने विषयमा परिषदका पदाधिकारीहरुबीच अहिले छलफल चलिरहेको छ ।
२४ घण्टाको समय सकिएपछि बैठक बसेर निर्णय गर्ने राखेपका सदस्यसचिव रामचरित्र मेहताले बताए ।
‘हामी एन्फाको जवाफ कुरिरहेका छौ । २४ घण्टाभित्र जवाफ आयो भने पहिल त्यसको अध्ययन हुन्छ । आएन भने पनि के गर्ने भन्ने विषयमा बैठकबाटै निर्णय गर्झौं,’ खेलाडी डटकमसँग सदस्यसचिव मेहताले भने ।
आगामी असार ५ गतेसम्म कार्यकाल रहे पनि एन्फा नेतृत्वले पाँच महिना अगाडि नै माघ २८ मा ‘अर्ली इलेक्सन’ गर्ने तयारी गरेको थियो । एन्फा नेतृत्वले जिल्ला फुटबल संघमा नयाँ चुनाव नगरि चार वर्षअघिकै जिल्ला प्रतिनिधिलाई मताधिकार दिएर थप चार वर्षका लागि केन्द्रमा अनुमोदित हुने रणनीति लिएको थियो ।
त्यसको विरोधमा सरोकारवालाहरुले पहिला जिल्लाको चुनाव गरेर प्रतिनिधि छान्नुपर्ने, त्यसपछि मात्र केन्द्रको चुनाव हुनुपर्ने भन्दै राखेप, युवा तथा खेलकुद मन्त्रालय, फिफा र एएफसी तथा अदालतमा मुद्धा दायर गरेका थिए ।
सरोकारवालाको मुद्धामा पाटन उच्च अदालतले पुष २८ गते स्टे अर्डर जारी गरेर चुनावी प्रक्रिया तत्काल रोक्न आदेश दिएको थियो । तर एन्फाले माघ ३ को समयसिमामा उम्मेदवारी दर्तासम्मको सबै प्रक्रिया सकेर माघ ६ गते निर्वाचनका सबै प्रक्रिया स्थगित गरेको सूचना जारी गरेको थियो ।
अदालतले माघ २७ गते चुनाव स्थगनका लागि जारी गरेको स्टे अर्डर खारेज गरेपछि एन्फाले चुनावको परिमार्जित कार्यतालिका बनाएर फागुन १ बाट प्रक्रिया पुन सुरु गरेको थियो । नयाँ कार्यतालिकाअनुसार माघ २७ को लागि नयाँ मिति तय गरेको थियो ।
फागुन २१ गते आम निर्वाचनको तयारीमा रहेको निर्वाचन आयोगले एन्फालाई तत्काल चुनाव नगर्न निर्देशन दियो । जसले फेरि एन्फाको चुनाव स्थगित भयो ।
आम चुनाव सकिएर नतिजा आइनपुग्दै एन्फाले फेरि त्यसलाई नयाँ मिति तय गर्दै चैत १३ गतेलाई चुनाव राख्यो । त्यसको विरुद्ध पनि अदालतमा थप नयाँ मुद्धा परेका छन् । उपाध्यक्ष विराटजंग शाहीलगायतले अदालतको आदेशका कारण आफ्नो उम्मेदवारी दिने अधिकार हनन भएको भन्दै त्यही अदालतमा मुद्धा दायर गरेका छन् ।
राखेप भने सुरुदेखि नै ‘अर्ली इलेक्सन’को प्रक्रियासँग सहमत थिएन । राखेपले सुरुमै एन्फालाई जिल्लादेखि तहगत निर्वाचन गरेर मात्र केन्द्रको चुनाव गर्न निर्देशन दिएको थियो ।
तर एन्फाले त्यसको अटेर गर्ने क्रममा पटकपटकका पत्रलाई समेत बेवास्था गर्दै चैत १३ मा चुनाव गर्न खोजेपछि राखेपले बिहीबार एन्फालाई चुनाव स्थगित गरेर जानकारी गराउन तीन दिने अल्टिमेटम दिएको थियो । त्यसको जवाफमा एन्फाले कुनै पनि हालतमा चुनाव रोक्न नसक्ने भन्ने जवाफ दिएपछि राखेपले २४ घण्टे स्पष्टीकरणको माग गरेको थियो ।
