असार २८, २०८२ शनिबार | १२:४०:५९
इतिहासको ढोकामा निसास्सीएको सपना उज्वेकिस्तानबाट फर्किएको फुटबल विवादः जवाफ कम, प्रश्न धेरै अन्जिलाः ‘आर्मब्याण्ड’ बिनाकी कप्तान आत्मकथा शृंखला–७ः सबैले चिन्ने हुनाले खेलाडी हुन गाह्रो थियो गल्ती कस्को ? थी स्टारको मात्र कि स्वीकृति दिनेको पनि ? को बलियो ? पिएसजी कि चेल्सी ? भुटानविरुद्ध नेपालको सहज जित, पूर्णिमाले गरिन् चार गोल भुटानविरुद्ध पहिलो हाफमा नेपाललाई तीन गोलको अग्रता एपिएफलाई हराउँदै पुलिस उक्लियो शीर्ष स्थानमा युवा खेलाडीलाई सुदूरपश्चिमको सहयोग इतिहासको ढोकामा निसास्सीएको सपना उज्वेकिस्तानबाट फर्किएको फुटबल विवादः जवाफ कम, प्रश्न धेरै अन्जिलाः ‘आर्मब्याण्ड’ बिनाकी कप्तान आत्मकथा शृंखला–७ः सबैले चिन्ने हुनाले खेलाडी हुन गाह्रो थियो गल्ती कस्को ? थी स्टारको मात्र कि स्वीकृति दिनेको पनि ? को बलियो ? पिएसजी कि चेल्सी ? भुटानविरुद्ध नेपालको सहज जित, पूर्णिमाले गरिन् चार गोल भुटानविरुद्ध पहिलो हाफमा नेपाललाई तीन गोलको अग्रता एपिएफलाई हराउँदै पुलिस उक्लियो शीर्ष स्थानमा युवा खेलाडीलाई सुदूरपश्चिमको सहयोग
शनिबारको दिन

इतिहासको ढोकामा निसास्सीएको सपना

काठमाडौं । अघिल्लो शनिबार, उज्बेकिस्तानको तास्केन्दमा नेपाली महिला फुटबलले देखेको एउटा महत्वाकांक्षी सपना चकनाचुर भयो । अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपलाई छनोट हुने नेपालको सपना पेनाल्टी सुटआउटको दूर्भाग्यसँगै समाप्त भयो । तास्केन्दमा भएको छनोट प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को निर्णायक खेलमा घरेलु टोली उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा भाग्यको साथ नपाउँदा नेपालको सपना थाँती रहेको थियो । सामान्य नजरले हेर्दा भाग्यमात्र बाधक जस्तो देखिए पनि आफैमा यो महत्वाकांक्षा कत्तिको व्यवहारिक थियो भन्ने प्रश्नको उत्तर खोज्नका लागि अहिले उचित समय हो ।

के साच्चै अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपमा छनोट भएर खेल्ने महत्वकांक्षा बोक्न नेपाली फुटबल तयार भइसकेको थियो त ?

देशको फुटबल हेर्ने नियामक निकाय (एन्फा)ले विश्वकप खेल्ने लक्ष्य राखेर औपचारिक रुपमै ‘मिसन फिफा महिला विश्वकप २०२७ र २०३१’ भनेर निर्णय नै गरिसकेको अवस्थामा पक्कै पनि यो स्वभाविक हो । अझ भन्ने हो भने विश्वकप खेल्ने लक्ष्यका अघि एसियन कपलाई छनोट हुने महत्वाकांक्षा नै होइन । झन तास्केन्दमा पेनाल्टी सुटआउटमा पराजित भएको प्रशंगले त झनै यसलाई स्वभाविक मान्न सक्छ ।

तर, व्यवहारिक धरातल योभन्दा नितान्त फरक छ । किनकी फुटबलमा प्रदर्शन र परिस्थितीहरुको धेरै हिसावकिताव हुँदैन । यहाँ नतिजाको मात्र अर्थ रहन्छ । र, नेपालले जस्तोसुकै परिस्थितीमा भोगेको भए पनि त्यो नतिजाले लामो समय टिमको नेतृत्व सम्हालिसकेकी सिनियर खेलाडी अञ्जिला तुम्बाप्पो सुब्बाले भनेजस्तै ‘सगरमाथा चढ्दै गर्दा हिउँमा चिप्लिएर बेसक्याम्पमा झरेजस्तो’ भएको छ । तास्केन्दको नतिजाले एसियन कपको लक्ष्य असफल भएको छ । साथमा २०२७ को विश्वकप खेल्ने सबैखाले ढोकाहरु पनि बन्द भएको छ ।

एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपाली खेलाडीलाई सम्हालिन गाह्रो, तस्वीर सौजन्यः एनएसजेएफ ।

खासमा त अहिलेसम्म नेपाली महिला फुटबल टिमले कुनै पनि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । दक्षिण एसियाभित्रै पनि नेपाल च्याम्पियन भएको छैन । साफ च्याम्पियनसिप वा दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गतको फुटबलमा पनि अहिलेसम्म स्वर्ण पदक जितेको इतिहास छैन । यतिमात्र होइन, आफैले छानेर विपक्षी निम्त्याउँदै आयोजना गरेका आमन्त्रण प्रतियोगितामा पनि नेपाल विजयी भएको छैन । यथार्थ यस्तो रहँदा एसियन कप र विश्वकपलाई छानिने कुरा दिवास्वप्न देख्नु र भ्रममा बाच्नुभन्दा फरक देखिदैन ।

सगरमाथा आरोहणः शिखर चुम्नुअघिका पाइलाहरु

खेलकुदमा पनि जीवनमा जस्तै सफलताका कथाहरु त्यतिकै रचिन्न । त्यसका लागि प्रक्रियाहरु हुन्छन्, सही संरचना, योजना र त्यसमा लगातार चालिएका पाइलाहरुको भूमिका महत्वपूर्ण हुन्छ । जसरी सगरमाथाको शिखर चुम्नेले बेस क्याम्पदेखि नै उचाइसँग अभ्यस्त हुँदै अनुशासित रुपमा पाइला माथि उकाल्ने गर्छन । फुटबलकै हकमा पनि कुनै पनि देशको राष्ट्रिय टिमले आधारभूत यात्राको आरम्भविना उच्चस्तरमा सफलता पाएका उदाहरण छैनन् ।

नेपालका दक्षिण एसियाली प्रतिद्धन्द्धीहरु भारत र बंगलादेश प्रक्रियागत रुपमा आधार निर्माण गरेर सफलता हासिल गर्ने मामिलामा राम्रा उदाहरण हुन् । दुवै देश अर्को वर्षको एएफसी महिला एसियन कपका लागि छनोट भइसकेका छन् । २० वर्षअघि एसियाली फुटबल महासंघ (एएफसी)ले एसियन कपका लागि छनोट हुने टिममात्र सहभागी हुन पाउने नियम ल्याएयता महादेशीय फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा भारत र बंगलादेश छानिएको यो पहिलो पटक हो ।

दक्षिण एसियाली फुटबलको नीर्विवाद महारथी भारतले कीर्तिमानी पाँच पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ । बंगलादेश पनि पछिल्ला दुई संस्करणको च्याम्पियन हो । महादेशीय यात्राका लागि आफूलाई लायक बनाउने अभियानमा दुवै देशले आधार तयार गर्ने क्रममा क्षेत्रीय फुटबलमा निरन्तर श्रेष्ठता प्रमाणित गरेका थिए ।

एएफसी एसियन कपमा पहिलो पटक छनोट भएपछि भारतीय महिला टोलीमा खुसियाली, तस्वीर सौजन्यः एआइएफएफ ।

यसो भन्नुको मतलब साफ च्याम्पियनसिप जित्नेलेमात्र एसियन कप खेल्न सक्छ भन्ने होइन । तर यो एउटा खुटकिलो चाँही हुन सक्छ । किनकी कुनै पनि महत्वाकांक्षासँग त्यसको गतिलो जग हुनु आवश्यक हुन्छ । जवकि नेपाली महिला फुटबलको हकमा त्यस्तो जग देखिन्न । नेपालले गर्न खोजेको यात्रामा बाटो नै स्पष्ट छैन ।

आधार निर्माणमै बेवास्थाः खोई संरचना ?

नेपाली महिला फुटबलले विश्वकप र एसियन कपजस्ता विश्वस्तरका ठूला प्रतियोगिताको छानोलाई सपना बनाउन कस्तो जग निर्माण गरियो भन्ने कुराको महत्व अहम हुन्छ । नत्र सपना मात्र देख्ने तर त्यसलाई पूरा गर्न इमान्दार प्रयास नगर्ने हो भने त्यो जगबिना ठूलो महल ठड्याउने कल्पनाभन्दा फरक देखिन्न । सपनाको नाममा लोकलाई दिग्भ्रमित पार्ने प्रयास होइन भने त्यसले केही स्वभाविक प्रश्नको जवाफ माग गर्छ ।

– के नेपालमा महिलाका लागि स्थिर खालको प्रतिस्पर्धात्मक लिग छ ?– सरकार वा निजी क्षेत्रबाट कुनै राष्ट्रिय स्तरको महिला फुटबल एकेडेमी सञ्चालनमा छ ? – प्रतिभाको पहिचान र उनीहरुलाई सही तरिकाले हुर्काउन नेपालमा कुनै नियमित र व्यवस्थित ग्रासरुट प्रतियोगिता छ ?– महिला फुटबलका लागि देशमा कुनै स्पष्ट नीति, विकास योजना, दीर्घकालिन योजना छन् ? – सबभन्दा महत्वपूर्ण कुरा के नेपाली फुटबल प्रशासनसँग आफूले फलाक्दै आएका नाराहरुलाई व्यवहारमा उतार्नका लागि इमान्दारी र प्रतिबद्धता छ ?

दूर्भाग्य, यी सबै प्रश्नको इमान्दार जवाफ ‘छैन’ भन्ने नै हुन्छ । दुई वर्षअघि एन्फाले रौतहटमा सुरु गरेको महिला एकेडेमीलाई चाँही एउटा अपबादका रुपमा लिन सकिन्छ । तर, ३० जना किशोरीहरुलाई राखिएको त्यो एकेडेमी पनि भौतिक तथा प्राविधिक रुपमा आधारभूत स्तरभन्दा पनि तल छ ।

रौतहट फुटबल एकेडेमी, तस्वीरः आशिष पुडासैनी/खेलाडी

सशस्त्र प्रहरी बल, नेपाल पुलिस र नेपाली सेनाबाहेक कुनै पनि संस्था वा क्लबले प्रक्रियागत रुपमा महिला फुटबलमा नियमित लगानी गरिरहेका छैनन् । शीर्ष डिभिजनका क्लबहरुबाट पनि महिला फुटबल बेवास्थामा परेको छ । उदाहरणका रुपमा महिला फुटबलमा संकटा क्लबको उपस्थितीलाई लिन सकिन्छ । गत सिजनको एन्फा महिला लिगमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको टोली संकटाले आफ्नो टिम सहभागी गराएको थियो । तर प्रतियोगिता सकिएलगत्तै टिम बिगठन गरियो । लिग वा अन्य घरेलु प्रतियोगिता खेल्ने अरु टिमले पनि प्रतियोगिताको दुई साताअघि सम्बन्धित प्रतियोगिताका लागि मात्र टोली जोडजाम गर्ने चलनमै नेपाली महिला फुटबल अल्झिइरहेको छ ।  

बंगलादेशले सिकाएको पाठ

नेपालले सफलता हासिल गर्नका लागि धेरै टाढाको उदाहरण दिइरहनु पर्दैन । दक्षिण एसियाका आफ्नै छिमेकीबाट प्रेरित भए पर्याप्त हुन्छ । कुनै बेला दक्षिण एसियाली महिला फुटबलको संघर्षरत देश बंगलादेशले पाँच वर्षको बीचमा उल्लेखनीय सफलता हासिल गरिसकेको छ । एक दशकअघिसम्म नेपाल साफ महिला च्याम्पियनसिपमा उपाधिको मुख्य दाबेदार छविमा रमाइरहँदा बंगलादेशको परिचय ‘ह्विपिङ गर्ल्र्स’को थियो ।

सन् २०१५ मा बंगलादेशी महिला फुटबलले एउटा यस्तो सुखद मोड पायो, जसले देशको परिचय एकाएक ‘ह्विपिङ गर्ल्र्स’बाट च्याम्पियनका रुपमा परिणत गर्यो । बंगलादेश फुटबल संघ (बिएफएफ)ले त्यही वर्ष महिलाकै लागि लक्षित एउटा युवा एकेडेमीको सुरुआत गर्यो । विज्ञहरुले बनाएको योजनालाई इमान्दारीपूर्वक कार्यान्वयन गरेपछि लगत्तैको वर्ष बंगलादेश एएफसी यु–१७ महिला च्याम्पियनसिपका लागि छनोट भयो । बंगलादेशी महिला फुटबलका लागि यो सफलताको एउटा यस्तो सुरुआत थियो, जसको शृंखलाले अहिलेसम्म पनि निरन्तरता पाइरहेको छ । एकेडेमीलाई व्यवस्थित तरिकाले निरन्तरता दिइरहेको फलस्वरुप उनीहरुले सन् २०२२ मा पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि उचाल्यो । गत वर्ष टोलीले त्यो उपाधि रक्षा पनि गर्यो । दुवै पटक बंगलादेशले फाइनलमा नेपाललाई हराएको थियो ।

ठिक विपरित नेपालले भने साफ महिला च्याम्पियनसिपले सात संस्करणको यात्रा पूरा गर्दा ६ पटक उपविजेताको हैसियतमा चित्त बुझाएको छ । प्रत्येक पटक उपाधि उचाल्न असफल हुनुलाई भाग्यसँग जोडेर हेर्न सकिन्न । यसले त नेपाली फुटबलको संरचनामै ठूलो खाडल रहेको प्रमाणित गर्छ ।

एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा म्यानमारविरुद्ध विंगर रितु पोर्नाको गोल, उक्त गोलपछि बंगलादेशी टोलीको खुसियाली, तस्वीरः बिएफएफ ।

फरक नियतिः सपना पूरा भएको शान, टुटेको सपना

तास्केन्दमा उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ को पराजय भोग्दै नेपाल छनोट चरणबाट बाहिरियो । तर यही संस्करणमा भारत र बंगलादेशले भने ऐतिहासिक सफलता हासिल गरे । एसियन कपका लागि पहिलो पटक छनोट भइरहँदा भारत र बंगलादेशले त्यसका लागि गरेको लामो र सही योजनाको यात्रातिर फर्किनु जरुरी हुन्छ । उनीहरुले यो सफलता सम्भव बनाउनका लागि वर्षौदेखि युवा विकास र भौतिक पूर्वाधार हुँदै प्रतिस्पर्धात्मक फुटबलको स्थिरतामा धैर्यपूर्ण यात्रा गरेका छन् ।

पक्कै पनि महादेशीय वा विश्वस्तरमा पुग्ने नेपालको महत्वाकांक्षा प्रशंसनीय छ । तर सपना जति ठूलो देखे पनि पूरा गर्नका लागि योजना, लगानी, संरचना छैन र त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता छैन भने त्यसको कुनै अर्थ रहन्न । यी आधारभूत आवश्यकतातिर ध्यान नदिने हो भने परिस्थिती उस्तै रहन्छ । सपना फेरि पनि सपनामै सीमित हुन्छ ।

सतही लक्ष्य, खोक्रो तयारी

दुई वर्षअघि सन् २०२३ जुलाई १८ मा नेपाली महिला फुटबल टिम र युनिलिभर नेपालबीच प्रायोजन सम्झौता कार्यक्रममा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले विश्वकप खेल्ने लक्ष्य घोषणा गरे, ‘मिसन फिफा महिला विश्वकप २०२७ वा २०३१’ भनेर । एन्फा अध्यक्षले कार्यसमितिमै निर्णय गराएर गरेको यो घोषणा सही सावित भएको भए नेपालले दुई वर्षपछि ब्राजिलमा हुने महिला विश्वकप वा २०३१ मा मेक्सिको र अमेरिकामा हुने विश्वकप खेल्ने थियो ।

एसियन कप २०२६ लाई छनोट हुन नसकेपछि २०२७ को विश्वकप खेल्ने सम्भावना पनि औपचारिक रुपमै समाप्त भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राई, अध्यक्ष पंकज विक्रम नेम्बाङ र उपाध्यक्ष दावा लामा, तस्वीर सौजन्यः एन्फा ।

अब एउटा अझै पेचिलो प्रश्न उठ्छ, नेपाली फुटबलको सर्वोच्च निकायसँग यो सपनालाई वास्तविकतामा परिणत गर्नका लागि कस्ता ठोष योजना छन् त ? यसमा एन्फाले केही प्रयास गरेकै भए पनि ती प्रष्ट छैनन् । कतिपय अवस्थामा त एन्फाको कार्यशैली रहस्यमय नै देखिन्छ ।

अब के त ?

नेपालले अझै पनि यथास्थितीकै प्रयासमा २०३१ मा विश्वकप खेल्ने सपनालाई पछ्याइरहनुपर्छ ? वा, यो ‘लक्ष्य’माथि पुर्नविचार गर्नुपर्छ ? पक्कै पनि महत्वाकांक्षाहरु महत्वपूर्ण हुन्छन् । तर प्रष्ट प्रक्रियाबाट थेगिएको महत्वाकांक्षामात्र व्यवहारिक हुन्छ । नेपालले पनि आफ्नो ध्यान अब योजनाबद्ध रुपमा खुटकिलाहरु उक्लिँदै शिखरमा पुग्ने खालको यात्रामा केन्द्रित गर्नुपर्छ । तत्कालिन रुपमा साफ च्याम्पियनसिप जित्ने लक्ष्य नेपालका लागि व्यवहारिक हुन सक्छ । सँगै २०२९ को एएफसी एसियन कपलाई छनोट हुने अभियानमा केन्द्रित हुन सकिन्छ । पक्कै पनि विश्वकपमाथि अर्जुन दृष्टी हुनुपर्छ । अन्तिम गन्तव्य हो । तर यो निक्कै सुझबुझपूर्ण तरिकाले तय गरिएको यात्राको गन्तव्य हुनुपर्छ ।

त्यो गन्तब्यमा पुग्न नेपालले सबभन्दा पहिला संरचना, योजना र व्यावसायिकतालाई प्राथमिकतामा राख्नुपर्छ । तत्काल अल्पकालिन, मध्यकालिन र दीर्घकालिन रणनीतिहरु बनाएर अगाडि बढ्नुपर्छ । यस्ता रणनीतिहरु जुन व्यवहारिक हुन् । यस्ता योजना जुन पूरा गर्न सकिने खालका हुन् । र, ति सबै योजना तथा रणनीतिहरु क्षमतावान विज्ञहरुबाट बनाइनुपर्छ र तिनको कार्यान्वयन पूर्ण रुपमा इमान्दारी, प्रतिबद्ध र जवाफदेही भएर गरिनुपर्छ । हचुवा र हावादादी पारामा योजना बनाउनेसँग विश्वकपजस्तो महत्वाकांक्षी सपना देख्ने अधिकार रहन्न ।

पूर्नसंरचना र आधार निर्माण

नेपालले फुटबल विकास नीतिमै पूर्ण रुपमा परिमार्जन गर्न ढिलो गर्नु हुन्न । कुनै पनि देशको फुटबल सफलताको आधार निर्माणमा ग्रासरुटबाटै प्रतिभाको पहिचान र निखार्ने प्रक्रियाको सबभन्दा महत्वपूर्ण भूमिका रहने गर्छ । त्यसका लागि स्थानीय स्तरबाटै ठूलो संख्यामा सानो उमेरका प्रतिभाहरुले फुटबल खेल्ने र राष्ट्रिय फुटबलको मुलधारसम्म पहुँच राख्ने वातावरण हुनुपर्छ । नेपालको हकमा स्कुलहरुलाई ग्रासरुट फुटबलमा व्यापक रुपमा सहभागिता गराउन सकियो भने यसबाट छोटो समयमै नसोचेका सफलताका नतिजाहरु देखिन सक्छन् ।

उज्वेकिस्तानको तास्केन्दमा सम्पन्न एएफसी महिला एसियन कप छनोट प्रतियोगिता खेलेर फर्किएको नेपाली टोलीलाई एन्फाको स्वागत, तस्वीरः सरोज सापकोटा/खेलाडी ।

ठूलो संख्यामा प्रशिक्षकहरुलाई प्रशिक्षित गर्नु नेपाली फुटबलको अर्को आवश्यकता हो । यसबाट देशका कुनाकाप्चासम्म ससाना बालकहरुले आधारभूत प्रशिक्षणको मौका पाउछन् । साथमा फुटबलमा रोजगारीका सम्भावनाहरु पनि बढ्नेछन् । प्राविधिक रुपमा दक्ष प्रशिक्षकको संख्या जति बढि भयो, उती नै कलिला प्रतिभालाई हुर्काउने वातावरण सहज र प्रभावकारी बन्नेछ ।

क्लब फुटबल पुर्नसंरचना

नेपालको महिला क्लब फुटबलले व्यग्रताका साथ पुर्नसंरचना प्रतिक्षा गरिरहेको छ । शीर्ष डिभिजनको लिगको सिजन कम्तिमा ६ महिनाको हुनुपर्छ । यस्तो लिग, जसको क्यालेन्डर पहिल्यै तय हुनुपर्छ । नियमित हुनुपर्छ । अनि पूर्ण रुपमा व्यावसायिक हुनुपर्छ । वितेको सिजनको एन्फा महिला लिगमा भएजस्तो १९–० वा १४–१ को हार भोग्ने कमजोर टिमहरु पुरुष फुटबलमा जस्तै रेलिगेसनमा पर्नुपर्छ । खेल्नका लागि खेल्ने, औपचारिकता पूरा गर्नका लागि खेल्ने टिमले शीर्ष डिभिजनको भावना बोक्न सक्दैनन् । पुरुष फुटबलमा जस्तै महिलामा पनि कम्तीमा तीन श्रेणीको लिग स्थापना गरिनुपर्छ ।

विश्वकपको नारामा रमिरहेको नेपाली महिला फुटबलमा उमेर समूहको प्रतियोगिता अभावले पनि विकास प्रक्रियामा ठूलो खाडल सिर्जना गरेको छ । ठूला महत्वाकांक्षाका लागि यस्ता प्रतियोगिताको भूमिका महत्वपूर्ण हुन्छ । तर एन्फाले त्यस्ता प्रतियोगिता आयोजनामा खासै ध्यान दिएको छैन । एन्फा आफैले यस्ता प्रतियोगिता आयोजना गर्न अग्रसर हुनुपर्छ । त्यतिले पुग्दैन । स्कुल तथा समुदायलाई पनि उमेर समूहका प्रतियोगिता आयोजना गर्न हौस्याउनुपर्छ । नेपालको हकमा बास्केटबल यसको राम्रो उदाहरण हुन सक्छ । जहाँ उमेर समूहमा सहरी क्षेत्रका स्कुलहरुले नियमित रुपमा थुप्रै प्रतियोगिता आयोजना गरिरहन्छन् ।

पुरुष फुटबलमा रमाइरहेका शीर्ष डिभिजनका क्लबहरुलाई महिला टोली निर्माणमा प्रोत्साहित गर्नुपर्छ । जसले महिलामा पनि पुरुषको जस्तै व्यवस्थित प्रणाली विकास गर्नेछ । केही निजी एकेडेमीहरुले महिला फुटबलमा देखिएको कमी पूरा गर्ने प्रयास नगरेका होइनन् । तर ती पनि धेरैजसो आधारभूत पूर्वाधार र दक्ष प्रशिक्षकको अभावमा प्रभावकारी बन्न सकिरहेका छैनन् । एन्फाले त्यस्ता एकेडेमीहरुलाई प्राविधिक, खेल सामाग्री र अन्य खालका सहयोग गर्ने सुरुआत थाल्नुपर्छ ।

एन्फा राष्ट्रिय महिला लिगको फाइनलमा नेपाल पुलिसविरुद्ध गोल गरेपछि एपिएफ फुटबल क्लबकी मिडफिल्डर सरु लिम्बू सहकर्मीसँग खुसियाली साट्दै, तस्वीरः सरोज सापकोटा/खेलाडी ।

सामान्य सुत्रः पहिला प्रक्रिया, अनि नतिजा

नेपालको विश्वकप सपना अझै कायम छ । तर यो काल्पनिक सोच र फुस्रा नाराका भरमा चाँही सम्भव हुन्न । यसका लागि सर्टकर्ट छोडेर धैर्य, अनुशासन, संरचना, इमान्दारी, जवाफदेहिता र प्रतिबद्धतालाई अंगाल्नुपर्छ ।

सही मार्ग पहिल्याएमा नतिजा नेपालले पनि नतिजा अवश्य हासिल गर्नेछ । तत्काल नहोला, तर पक्कै हुनेछ ।