विम्बल्डन

जोकोभिच, फेडेरर, नाडाल र सेरेनाको भविश्य के होला ?

लन्डन । विश्व टेनिसमा ग्राण्ड स्लाम प्रतियोगिताको महत्व विशेष रहन्छ । चार ग्राण्ड स्लाममध्ये पनि बेलायतको लन्डनस्थित सेन्टर कोर्टमा हुने विम्बल्डनको प्रतिष्ठा बेग्लै छ । घाँसे कोर्टमा हुने यो प्रतियोगिता भर्खरै सकिएको छ । आइतबार विम्बल्डन सेन्टर कोर्टबाट एक वर्षका लागि विदा भएसँगै यसले चर्चाका तीन विषय छोडेर गएको छ ।

कोभिड खोप र नोभाक जोकोभिचको करियर

नोभाक जोकोभिचले यसपाली विम्बल्डनमा सातौं पटक उपाधि जिते । समग्रमा त्यो उनको २१औं ग्राण्ड स्लाम उपाधि जियो । तर उनले अर्को वर्ष मेमा हुने फ्रेन्च ओपनअघि मर्को हुनै पनि ग्राण्ड स्लाम खेल्ने छैनन् ।

कोभिड १९ विरुद्धको खोप लगाउन अस्वीकार गरेका कारण उनले अर्को महिना हुने युएस ओपनमा भाग लिन पाउने छैनन् । विश्वव्यापी महामारीको रुप लिएर वितेका वर्षहरुमा पूरा मानव जातिमाथि धावा बोलेको कोभिड १९ को प्रभाव कम हुँदै गएको अवस्थामा अमेरिकी प्रशासनले नयाँ नीति अख्तियार गरेमात्र जोकोभिचले युएस ओपन खेल्न पाउनेछन् । वर्तमान नीतिअनुसार अमेरिका भ्रमणका लागि कोभिड १९ विरुद्धको खोपको पूरा मात्रा लगाएको हुनुपर्छ ।

खोप नलगाएकै कारण यो वर्ष जनवरीमा अस्ट्रेलियन ओपन खेल्न नपाएका जोकोभिचले अर्को वर्ष पनि मेलबर्नमा सहभागिता जनाउने सम्भावना न्युन छ । अस्ट्रेलियाली नीति विपरित खोप नलगाइकनै यात्रामा निस्किएका जोकोभिचलाई अस्ट्रेलियाली प्रशासनले विमानस्थलबाट ‘डिपोर्ट’ गरेको थियो । वर्तमान अस्ट्रेलियाली कानुनअनुसार उनले तीन वर्षसम्म नयाँ भिसाका लागि आवेदन दिन पनि पाउने छैनन् ।

हालै निर्वाचित अस्ट्रेलियाली सरकारले भने कोभिड १९ सम्बन्धी नीतिमा केही परिवर्तन गरेको छ । नयाँ नीतिअनुसार भ्रमणकर्ताले अस्ट्रेलिया प्रवेशका लागि खोपको मात्रा पूरा गरेको घोषणा गर्नुपर्ने छैन ।

कोभिड १९ विरुद्धको खोप लगाउन अस्वीकार गरेका कारण उनले अर्को महिना हुने युएस ओपनमा भाग लिन पाउने छैनन् । विश्वव्यापी महामारीको रुप लिएर वितेका वर्षहरुमा पूरा मानव जातिमाथि धावा बोलेको कोभिड १९ को प्रभाव कम हुँदै गएको अवस्थामा अमेरिकी प्रशासनले नयाँ नीति अख्तियार गरेमात्र जोकोभिचले युएस ओपन खेल्न पाउनेछन् । वर्तमान नीतिअनुसार अमेरिका भ्रमणका लागि कोभिड १९ विरुद्धको खोपको पूरा मात्रा लगाएको हुनुपर्छ ।

‘उनी एउटा सच्चा नायक हुन् । यति धेरै कुरा पचाएर फेरी टेनिस खेल्न कोर्टमा फर्किनु सहज हुँदैन,’ जोकोभिचका प्रशिक्षक गोरान इभानिसेभिचले भन्छन्, ‘तर जोकोभिचले यस्ता तमाम विवादलाई पार लगाउँदै विम्बल्डनमार्फत टेनिसमा सनसनीपूर्ण पुनरागमन गरे ।’

जुबेरमा अफ्रिकी आशा

ग्राण्ड स्लामको फाइनल पुग्ने पहिलो अरबी महिला खेलाडीको इतिहास बनाएकी ओन्स जुबेर एकलको उपाधि जित्नमा भने निक्कै पीडादायी रुपमा चुकिन । शनिबार फाइनलमा इलिना राइबाकिनालाई हराउन सकेको भए उनी ग्राण्ड स्लाममा एकल उपाधि जित्ने पहिलो अफ्रिकी महिला खेलाडी बन्ने थिइन ।

‘म सकेसम्म बढि भन्दा बढि नयाँ पुश्ताका खेलाडीलाई प्रेरित गर्ने प्रयास गर्नेछु । मेरो यो यात्राले धेरै अफ्रिकी युवा महिला खेलाडीहरुलाई प्रोत्साहन मिल्यो भन्ने लाग्छ । मैले आफ्नो तर्फबाट योगदान गरिरहने हो,’ राइबाकिनासँग तीन सेटको फाइनलमा पराजय भोगेपछि विश्व वरियताको दोस्रो नम्बरमा रहेकी ट्युनिसियाली खेलाडी जुबेरले भनेकी थिइन ।

जुबेरले त्यसो भनिरहे पनि फुटबले राज गरिरहेको देशमा नयाँ पुश्ताका टेनिस खेलाडी कहाँ छन् भन्ने प्रश्न उठेको छ ।

ट्युनिसियनका तीन जनामात्र महिला खेलाडी डब्लुटिए वरियतामा छन् । जुबेरपछि चिराज बेच्रीसँगको बीचमा ठूलो खाडल छ । ब्रेची विश्व वरियताको सात सय १८औं स्थानमा छिन् । डब्लुटिए वरियतामा सुचिकृत अर्की ट्युनिसियन खेलाडी फेर्डाउस बाहरी अझ धेरै पछाडि छिन् । उनको विश्व वरिता एक हजार पाँच सय ४५ हो ।

समग्र अफ्रिकी महादेशको चर्चा गर्ने हो भने इजिप्टमा विश्व वरियताको ५०औं स्थानकी मेयर शेरिफको उपस्थिती छ । तर उनी पनि आफ्नो देशबाट शीर्ष चार सयभित्र पर्न सफल एकमात्र महिला खेलाडी हुन् ।

लामो समयदेखि अफ्रिकी महादेशको महारथीको हैसियतमा रहँदै आएको दक्षिण अफ्रिकाकी १७ वर्षे इसाबेला क्रुगेर आफ्नो देशकी नम्बर एक हुन् । तर विश्व वरियतामा भने उनी चार सय ५६औं स्थानमा छिन् । क्रुगेरले हालै सम्पन्न विम्बल्डनको जुनियर स्पर्धामा भाग लिएकी थिइन ।

फेडेरर, नाडाल र सेरेनाको अन्त्य ?

उनीहरुले जितेको विम्ब्ल्डन उपाधि जोड्ने हो भने ६५ पुग्छ । विश्व टेनिसका यी तीन महान खेलाडीको उमेर जोड्दा एक सय १६ हुन्छ । पक्कै पनि उनीहरुको सफलता र उमेरले एउटा स्वभाविक प्रश्न जगाएको छ, ‘के अर्को वर्षको विम्बल्डनमा रोजर फेडेरर, राफेल नाडाल र सेरेना विलियम्लाई देख्न पाइएला ?’

घुँडाको शल्यक्रियापछि आराममा रहेका आठ पटकका विम्बल्डन च्याम्पियन फेडेररले यो वर्ष अहिलेसम्म टेनिस खेलेका छैनन् ।

पछिल्लो पटक फेडेररले २०१७ मा विम्बल्डन जितेका थिए । अर्को वर्ष प्रतियोगिता हुने बेलासम्म उनी ४२औं जन्मदिन मनाउने तयारीमा पुगिसकेका हुने छन् ।

दुई पटकका च्याम्पियन नाडालको यात्रा यसपाली चोटका कारण दुःखद रुपमा अन्त्य भयो । निक किर्जियसविरुद्धको सेमिफाइनलको पूर्वसन्ध्यामा घाइते भएपछि नाडालले प्रतियोगिता त्याग्नु परेको थियो ।

लन्डनमा जितेका सातमध्ये सेरेनाको पछिल्लो उपाधि २०१६ मा हात लागेको थियो । अर्को वर्ष विम्बल्डन सुरु हुँदासम्म उनी पनि ४१ कटिसकेकी हुने छिन् ।

हालै सम्पन्न प्रतियोगितामा अमेरिकी खेलाडी सेरेना एक सय १५औं वरियताकी खेलाडी हामोर्नी टानसँग पहिलो चरणमै पराजित भएकी थिइन । यो वर्ष त्यही उनको पहिलो खेल थियो ।  

‘१२ महिनापछि म कहाँ कुन अवस्थामा हुन्छु भन्ने अहिले कसलाई थाहा होला र,’ अर्को वर्ष लन्डनमा सहभागिता जनाउने विषयमा सोधिएको प्रश्नमा सेरेनाको उत्तर थियो ।

हाल करियरकै कमजोर एक हजार दुई सय चार वरियतामा रहेकी सेरेनाले शीर्ष स्तरमा पुनरागमन जनाउने हो भने अर्को महिना उनका लागि घरेलु मैदानमा मौका हुनेछ । अर्को महिनाको अन्त्यमा सुरु हुने युएस ओपन सेरेनाको करियरले पाउने व्यवहारिक रुपमा अन्तिम अवसर हुनेछ ।

दुई पटकका च्याम्पियन नाडालको यात्रा यसपाली चोटका कारण दुःखद रुपमा अन्त्य भयो । निक किर्जियसविरुद्धको सेमिफाइनलको पूर्वसन्ध्यामा घाइते भएपछि नाडालले प्रतियोगिता त्याग्नु परेको थियो ।

लन्डनमा दुई उपाधि जितेका नाडालले पछिल्लो सफलता २०१० मा हासिल गरेका थिए । २०११ यता उनी विम्बल्डनको फाइनल पुग्न सकेका छैनन् ।

कीर्तिमानी २२ पटक ग्राण्ड स्लाम जितिसकेका नाडालले त्यसमा उपाधि थप्ने सम्भावना कायम छ । त्यसका लागि उनले फ्रेन्च ओपनको क्लेकोर्टमा आफूलाई फेरी एक पटक अब्बल सावित गर्नुपर्नेछ । फ्रेन्च ओपनमा नाडालले १४ पटक उपाधि जितिसकेका छन् । यसवाहेक उनले मेलबर्न र न्युयोर्कका हार्ड कोर्टमा पनि आफ्नै कीर्तिमानलाई थप फराकिलो पार्ने उद्देश्यका लागि प्रयास गर्नेछन् ।