आइसिसी विश्वकप क्रिकेट लिग २

स्कटल्यान्डविरुद्ध सम्हालिएको ब्याटिङ प्रदर्शनको आशमा नेपाल

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणत्मक शृंखलाको दोस्रो खेलमा आज घरेलु टोली स्कटल्यान्डको सामना गर्दा नेपाल सम्हालिएको ब्याटिङ प्रदर्शनसहित अंक तालिकामा स्थान सुधारको लक्ष्यमा हुनेछ । 

सोमबार पहिलो खेलमा नामिबियालाई ४० रनको नतिजा सुम्पिएको नेपाल स्कटल्यान्डविरुद्ध सुखद नतिजाको लक्ष्यमा हुनेछ ।

बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङमा सम्हालिएको प्रदर्शन गर्न नसक्दा नेपाल पहिलो पटक नामिबियासँग पराजित भएको थियो । 

नेपालका लागि सो खेलमा आरिफ शेखले सर्वाधिक ५० रन जोडेका थिए । बलिङतर्फ भने कप्तान सन्दिप लामिछानेले चार विकेट लिएका थिए । 

अंकतालिकामा आफ्नो स्थान सुधार गर्ने लक्ष्यमा रहेको नेपालले   स्कटल्यान्डलाई हराउन सके शृंखलाको बाँकी दुई खेलका लागि त्यसले उच्च मनोबल प्रदान गर्नेछ ।

नेपालले घरेलु टोली स्कटल्यान्ड र नामिबियाविरुद्धको त्रिकोणत्मक शृंखला खेल्न लागेको हो ।

नेपालले गत महिना मात्र आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणत्मक शृंखलाका लागि अमेरिकाको भ्रमण गरेको थियो ।

ओमानविरुद्ध दुई खेल मध्ये नेपालले एक खेल जितेको थियो भने एक खेल गुमाएको थियो ।त्यस्तै अमेरिकाविरुद्धको दुई मध्ये एक खेल टाइ भएको थियो भने अर्को खेलमा नेपाल पराजित भएको थियो ।

 स्कटल्यान्डसँग नेपालले पछिल्लो पटक सन् २०१८ मा एकदिवसीय खेल खेलेको थियो । उक्त खेलमा नेपालले स्कटल्यान्डलाई नतिजा सुम्पिएको थियो ।

तालिकामा १७ खेल खेलेर १५ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । नेपालले लिग २ मा अझै १९ खेल्न बाँकी छ । यसक्रममा नेपालले ७ खेलमा जित निकाल्दा एक खेल ‘टाइ’ र नौ खेलमा पराजय बेहोरेको थियो ।

तालिकाको शीर्षस्थानमा रहेको ओमानले लिग २ का सबै खेल खेलिसक्दा ३६ खेलबाट ४४ अंक जोडेको छ । दोस्रो स्थानको स्कटल्यान्डले २१ खेलबाट ३०, तेस्रो स्थानको संयुक्त अरब इमिरेट्स (युएई) ले २२ खेलबाट २६, चौथो स्थानको अमेरिकाले २४ खेलबाट २३, पाँचौ स्थानको नामिबियाले १५ खेलबाट १६ र पुछारमा रहेको पपुवा न्युगिनी (पिएनजी) ले २० खेलबाट २ अंक जोडेका छन् ।