‘गोल्डेन स्लाम’को अपेक्षासहित जोकोभिचले ओलम्पिक खेल्ने

टोकियो, (खेलाडी)- पुरुषतर्फ ऐतिहासिक पहिलो ‘गोल्डेन स्लाम’ को अपेक्षाका साथ विश्‍व नम्बर एक खेलाडी नोभाक जोकोभिचले आसन्‍न टोकियो ओलम्पिकमा सहभागिता जनाउने पक्का गरेका छन् । 

जोकोभिच ‘गोल्डेन स्लाम’ (एकै वर्षमा सबै चार ग्राण्ड स्लामका साथै ओलम्पिकको एकल उपाधि जित्‍ने) उपलब्धिबाट दुई उपाधिलेमात्र टाढा छन् । यो वर्ष जोकोभिचले अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डनको उपाधि जितिसकेका छन् । अब टोकियोमा यही जुलाई २३ बाट सुरु हुने ओलम्पिक तथा वर्षको उत्तरार्धमा हुने युएस ओपन जित्‍न सके जोकोभिच ‘गोल्डेन स्लाम’  जित्‍ने पहिलो पुरुष टेनिस खेलाडी हुने छन् । 

प्रतिद्वन्द्वीहरु राफेल नाडाल र रोजर फेडेररले चोटका कारण टोकियो २०२० बाट नाम फिर्ता लिइसकेका छन् । तर ३४ वर्षे जोकोभिचले आफू भने ऐतिहासिक उपलब्धिको अपेक्षाका साथ ओलम्पिकमा सहभागि हुने घोषणा गरे । 

अहिलेसम्म महिला टेनिसकी हस्ती स्टेफी ग्राफले मात्र एकै वर्ष सबै चार ग्राण्ड स्लाम र ओलम्पिकको एकल स्वर्ण पदक जित्‍ने उपलब्धि हासिल गरेकी छिन् । ग्राफले १९८८ मा यस्तो सफलता प्राप्त गरेकी थिइन ।