अझै बलियो भएर मैदान फर्किन्छु : साका

लन्डन, (खेलाडी)- इङ्ल्यान्डका विंगर बुकायो साकाले युरो २०२० को फाइनलमा पेनाल्टी खेर फालेको र त्यसपछि सामाजिक सञ्‍जालमार्फत भएको रंगभेदी व्यवहारले आफूलाई कमजोर बनाउन नसक्ने बताएका छन् ।

आर्सनलका प्रतिभावान १९ वर्षे फरवार्ड युरो २०२० को फाइनलमा पेनाल्टी खेर फाल्ने तीन इङ्लिस खेलाडीमध्ये एक थिए । उनीसँगै मार्कुस रसफोर्ड र जाडोन सान्चोले पनि पेनाल्टीमा गोल गर्न नसक्दा इङ्ल्यान्ड ५५ वर्षपछि पहिलो अन्तर्राष्‍ट्रिय उपाधि जित्‍ने अवसरमा चुकेको थियो । 

‘हारमा आफ्नो कमजोरी भएपछि यस्तो खालको घृणा सार्वजनिक हुन्छन् भन्‍ने मलाई थाहा थियो,’ साकाले भनेका छन्, ‘पक्कै पनि यस्ता घटनाले म र मेरो परिवारलाई पीडा भएको छ । तर यसैबाट म कमजोर हुने छैन । अझ बलियो र परिपक्‍व भएर मैदानमा फर्किनेछु ।’

साकाले पछिल्ला दिनहरुमा आफू सामाजिक सञ्‍जालबाट टाढा रहेको बताएका छन् । उनले सामाजिक सञ्‍जालबाट टाढा रहेर आफू परिवार र निकट मित्रहरुसँग समय विताइरहेको बताए । 

‘सामाजिक सञ्‍जालमा आइरहेका घृणाका ति सन्देशहरुले मेरो करियर र मेरो भावनालाई पक्कै पनि न्याय गर्दैन । तर यो कठिन दिनमा पनि मलाई ठूलो संख्याका समर्थकहरुले साथ दिइरहेका छन् । म उनीहरुलाई धन्यवाद दिन चाहन्छु,’ साकाले थपे ।