साबा महिला बास्केटबल

साबा च्याम्पियनसिप: जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौं । माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिप अन्तर्गत नेपालले आज दोस्रो खेलमा साविक विजेता श्रीलंकाको सामना गर्दैछ । मालेस्थित सोसियल सेन्टर इन्दोर हलमा नेपाली समयअनुसार ९:१५ बजे हुने खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।

आइतबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल घरेलु टिमसँग ५१–४७ को नतिजामा पराजित भएको थियो । सन् २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा नेपालसँग भोगेको पराजयको बदला लिन माल्दिभ्स सफल भएको थियो ।

यद्यपि, उपाधि होडमा कायम रहन नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ । नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स मात्रै सहभागी भएकाले राउन्ड पद्धतिमा जारी प्रतियोगितामा सबैभन्दा बढी अंक जोड्ने टिम च्याम्पियन हुनेछ ।

पहिलो खेलमा पराजित भएसँगै नेपाललाई उपाधिका लागि सबै खेल जित्नु पर्ने दबाब छ । दक्षिण एसियाली बास्केटबल संघ (साबा) महिला बास्केटबल च्याम्पियनसिपको यो दोस्रो संस्करण हो ।

यसअघि सन् २०१६ मा नेपालमा भएको पहिलो संस्करणको फाइनलमा श्रीलंकासँग पराजित हुँदा नेपाल उपविजेता बनेको थियो । आज सोही फाइनलको बदला लिँदै नेपालले च्याम्पियन बन्ने सम्भावना कायम राख्न सक्छ ।