लामा टेन्डी शेर्पा स्मृति बास्केटबल प्रतियोगिता

आर्मी क्वार्टरफाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल आर्मी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ

समूह ‘बी’ को लिग खेलमा आर्मीले शंकरदेव क्याम्पसलाई ११३–५६ ले पराजित गर्यो । आर्मीका सौरव श्रेष्ठ १८ स्कोर गरे । आर्मीको जितसंगै यो समूहमा रहेको अर्को टोली ड्रिम टिम पनि क्वार्टरफाइनल पुगेको छ । ३ टिम रहेको समूह ‘बी’ मा यसअघि ड्रिमले शंकरदेवलाई हराएको थियो ।

सुरुआतमा २७–१० को अग्रता लिएको आर्मी दोश्रोमा २६–६ ले अगाडि रह्यो । आर्मीले अग्रतालाई कायम राख्दै तेश्रो र चौथोमा समान ३०–२० अंक जोड्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुषकै अर्को प्रतिस्पर्धामा कीर्तिपुरले लगातार दोस्रो जित निकाल्ने क्रममा एचआइके भिजनलाई ७८–५९ ले हरायो । प्रतियोगिताको उद्घाटन खेलमा कीर्तिपुरले बीएमकेलाई हराएको थियो । कीर्तिपुरका लागि सुरज खड्गीले १७ स्कोर गरे ।

पहिलो क्वाटरमा २५–१३ ले अघि बढेको कीर्तिपुर दोश्रोमा ९–२० ले पछि रहँदा खेल ३३–३३ को बराबरी अवस्थामा पुगेको थियो । कीर्तिपुरले तेश्रोमा १९–१३ र चौथोमा २५–१३ स्कोर गर्यो ।

नेपाल बास्केटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको महिला राउन्ड रोविन लिगमा ललितपुर हाइले कीर्तिपुरमाथि ९३–२८ को सहज जित निकाल्यो । ललितपुरकी एलिना गुरुङले १५ स्कोर गरिन् ।

ललितपुर चारै क्वाटरमा हावी रह्यो । कीर्तिपुरले कुनैपनि क्वाटरमा दोहोरो अंकको स्कोर छुन सकेन । ललितपुरले ३०–९, १८–९, २१–६ र २४–४ अंक जोड्दै सहज जित निकाल्यो ।