आइसिसी वरियता

आइसिसी वरियताः दीपेन्द्र ५२औं स्थानमा उक्लिए

काठमाडौं । आइसिसी ट्वान्टी २० वरियताकाे ब्याटिङतर्फ नेपाली ब्याटर दीपेन्द्रसिंह ऐरी ५२औं स्थानमा उक्लिएका छन् ।

आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्रसँगै कुशल भुर्तेल ६५औं स्थानमा छन् । आइसिसीले जारी गरेको वरियताको शीर्ष सय भित्र नेपालबाट दीपेन्द्र र कुशलमात्र परेका छन् ।

नेपाली टोलीका पूर्व उपकप्तान समेत रहेका दीपेन्द्रले ट्वान्टी २० विश्वकपको तयारीका लागि खेलिएको चारदेशीय शृंखलामा एक अर्धशतकसहित एक सय ४२ रन जोडेको थिए ।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ६३औं स्थानमा यथावत् छन् ।

ब्याटिङ वरियताको शीर्ष स्थानमा पाकिस्तानी कप्तान बाबर आजम छन् । यस्तै, दोस्रो स्थानमा पाकिस्तानकै मोहम्मद रिजवान, तेस्रो स्थानमा दक्षिण अफ्रिकाका आइदेन मार्करम, चौथो स्थानमा भारतीय ब्याटर लोकेश राहुल पाँचौ स्थानमा इङ्ल्यान्डका डेभिड मलान छन् ।