च्याम्पियन्स लिग

इन्टरमाथि लिभरपुलको सहज जित

मिलान । रोबर्ट फिर्मिनो र मोहम्मद सलाहको गोलप्रेरित लिभरपुलले बुधबार च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा इन्टर मिलानलाई २-० ले हराएको छ ।

घरेलु मैदान सान सिरोमा इन्टर लिभरपुलमाथि हाबी बनेको थियो । १६औं मिनेटमा हकान चाहलनोग्लुको प्रहारमा क्रसबार बाधक बनेपछि इन्टर अग्रता दिनबाट चुकेको थियो ।

७५औं मिनेटमा फिर्मिनोको गोलमा लिभरपुलले अग्रता लिएको थियो । फिर्मिनो मध्यान्तरपछि डिएगो जोटाको स्थानमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । त्यसको आठ मिनेट पछि सलाहले बललाई पोस्टको दिशा दिँदै लिभरपुलको अग्रता दोब्बर पारेका थिए । 

इन्टरले दोस्रो लेगका लागि मार्च  ८ मा एन्फिल्डको भ्रमण गर्नेछ ।

योर्गेन क्लोपको टोलीले १४ मिनेटमा अग्रता लिने अवसर पाएको थियो । तर ६ यार्डबाट साडियो मानेले गरेको हेडरले पोस्टको दिशा लिन सकेन ।

६०औं मिनेटमा इडेन जेकोको गोलमा इन्टरले अग्रता लिए पनि सो गोल अफसाइड भएको भन्दै मान्यता नपाएपछि घरेलु टोली निराश बनेको थियो ।

लिभरपुलले इङ्लिस प्रिमियर लिगमा नर्विच सिटीलाई आतिथ्य गर्नेछ । इन्टरले भने इटालियन सिरी ‘ए’ मा आइतबार सासौलोको सामना गर्नेछ ।