टिआइए कप बास्केटबल

टिआइए कप बास्केटबलः भ्याली पब्लिकको दुवै टोली क्वार्टरफाइनलमा

सांकेतिक तस्बिर

काठमाडौं । भ्याली पब्लिकको सिनियर ब्वाइज र गर्ल्स दुवै टोली १५ औं टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

हात्तीगौडास्थित आयोजक ठुङरम इन्टरनेसनल एकेडेमी (टिआइए) को कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा भ्याली पब्लिकल टिआइए ‘बी’ लाई ४७-२७ ले पराजित गर्यो । भ्याली पब्लिकका अनमोल गुरुङले १५ अंक जोडे । 

सिनियर गर्ल्समा भ्याली पब्लिकले निम्सलाई ४२-३७ ले हरायो । भ्याली पब्लिककी प्रकृति खड्का र लोरिशा गौचनले समान १० स्कोर गरे ।

सिनियर ब्वाइजमा निम्स, ग्रिनल्यान्ड र एचएचसिएले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । निम्सले टिआइए ‘ए’ लाई ३६-३१, ग्रिनल्यान्डले जेनिथलाई ५८-४८ र एचएचसिएले फ्युजन एकेडेमीलाई ४०-१२ ले स्तब्ध बनाए ।

निम्सका दीपसागर सेती महरले ११, ग्रिनल्यान्डका प्रवीण गुरुङले ३४ र एचएचसिएका पवन मगरले आठ अंक जोडे ।

क्वार्टरफाइनलमा निम्सले जेनिथ, विल्सन एकेडेमीले एचएचसिए, टिआइए ‘ए’ ले ग्रिनल्यान्ड र भ्याली पब्लिकले पबएमसीएको सामना गर्नेछन् ।

सिनियर गर्ल्समा एनसीसीएसले ग्रिनल्यान्डलाई १९-२ ले हराउँदै  क्वार्टरफाइनल यात्रा तय गर्यो । एनसिसीएएकी दिया महर्जनले १० अंक जोडिन् ।

यससँगै सिनियर गर्ल्समा पनि क्वार्टरफाइनल समिकरण पूरा भएको छ । क्वार्टरफाइनलमा निम्स र एचएचसिए, ग्रिनल्यान्ड र बसुन्धरा नेसनल एकेडेमी (बिएनए), हिमरश्मि र एनसीसीएस तथा भ्याली पब्लिक र पटआइए ‘बी’ आमने सामने हुनेछन् ।