इङ्लिस प्रिमियर लिग

सिटीको पुनरागमन जित

काठमाडौं । एभर्टनविरुद्ध एक गोलले पछि परेको स्थिति उल्टाउँदै म्यानचेष्टर सिटीले इङ्लिस प्रिमियर लिगमा ३–१ को जित निकालेको छ ।

बुधबार राति एभर्टन मैदानमा सिटी पहिलो हाफमा १–० ले पछि परेको थियो । दोस्रो हाफमा आक्रामक खेल खेल्दै सिटी तीन अंक खोस्न सफल भएको हो ।

सिटीको जितमा फिल फोडेन, जुलियन अल्भारेज र बर्नान्डो सिल्भाले समान एक गोल गरेका थिए ।

जितपछि साविक विजेता सिटीले शीर्ष स्थानको लिभरपुलसँग अग्रता कम गरेको छ । १८ खेलबाट ३७ अंक जोडेको सिटी चौथो स्थानमा छ । लिभरपुलको ४२ अंक छ । एभर्टन १९ खेलबाट १६ अंकसहित १७औं स्थानमा रह्यो ।

खेलको २९औं मिनेटमा मरिसनको गोलमा एभर्टनले अग्रता बनाएको थियो । बक्स बाहिरबाट सानदार गोल गर्दै फोडेनले ५३औं मिनेटमा बराबरी गोल गरेका हुन् । पाएको पेनाल्टी सदुपयोग गर्दै अल्भारेजले सिटीलाई ६४औं मिनेटमा २–१ को अग्रता दिलाए ।

गोलकिपर जोर्डन पिकफोर्डको गल्ती फाइदा उठाउँदै बर्नान्डो सिल्भाले बक्सबाहिरबाट खाली पोष्टमा गोल गर्दै सिटीलाई सहज जित दिलाएका हुन् ।

शुक्रबार साउदी अरेबियामा सिटीले क्लब विश्वकपको ट्रफी उचालेको थियो । यो वर्ष सिटीको यो पाँचौ उपाधि थियो ।

राति नै भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई २–१ ले हराएको छ । उल्भ्सले ब्रेन्टफोर्डलाई ४–१ ले हरायो ।