यु-१९ राष्ट्रिय बास्केटबल च्याम्पियनसिप

यु-१९ राष्ट्रिय बास्केटबल च्याम्पियनसिपमा २५ टोली

काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) ले समृद्धि स्कुलसँगको सहकार्यमा यु-१९ राष्ट्रिय बास्केटबल च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।

पुस ३ देखि १० सम्म हुने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा खेलाइने छ । समृद्धि यु १९ राष्ट्रिय बास्केटबल च्याम्पियनसिपमा २० ब्वाइज र ५ गर्ल्स गरी २५ टोलीले सहभागिता जनाएका छन् ।

दुवैतर्फकाे विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँसहित पदक र ट्रफी प्राप्त गर्नेछन् । यसैगरी दुवैतर्फक सर्वोकृष्ट खेलाडीलाई ५ हजार रुपैयाँसहित पदक र ट्रफी प्रदान गरिनेछ ।

च्याम्पियनसिपकाे कुल बजेट ८ लाख रुपैयाँ छ । प्रतियोगिताका सबै खेलहरु फिबाको नियमअन्तर्गत सञ्चालन हुनेछन्।

ब्वाइजतर्फ सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा रोयल बास्केटबल एकेडेमी, जेभियर इन्टरनेसनल कलेज र टाइम्स बास्केटबल क्लब, ‘बी’ मा हाउन्ड्स बस्केटबल एकेडेमी, स्नोल्यान्ड बास्केटबल एकेडेमी र आइएसए नेपाल, ‘सी’ मा जिजिआइसी कलेज र समृद्धि स्कुल तथा ‘डी’ मा एन्जल्स हार्ट स्कुल र ट्रिनिटी कलेज छन् ।

यसैगरी समूह ‘इ’ मा ग्रिनफिल्ड स्कुल, बौद्ध युथ क्लब र टाइम आउट नेपाल, ‘एफ’ मा भ्याली पब्लिक स्कुल, बूढानीलकण्ठ बास्केटबल क्लब र काभ्रे बास्केटबल एकेडेमी, ‘जी’ मा सिसिआरसी कलेज र ह्वाइटहाउस कलेज तथा ‘एच’ मा कीर्तिपुर बास्केटबल क्लब र योद्धा बास्केटबल क्लब छन् ।

यस्तै गर्ल्सतर्फ आइएसए बास्केटबल एकेडेमी, बूढानीलकण्ठ बास्केटबल क्लब, भ्याली पब्लिक स्कुल, जेभियर इन्टरनेसनल कलेज, गोल्डेनगेट बास्केटबल क्लब सहभागी छन् ।