नेपाली फुटबल

इन्द्रमान तुलाधर एन्फाको सिईओमा नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई नियुक्त गरेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको कार्यसमिति बैठकले सिईओमा पूर्व महासचिव तुलाधरलाई नियुक्त गरेको हो । यदपि अधिकांश सदस्यले सुचना प्रकाशित गरेर खुल्ला प्रतिस्पर्धाबाट सिईओ नियुक्त गर्ने निर्णय भइसकेको र सोही हुनुपर्ने भन्दै विरोध गरेका थिए ।

यसअघि कात्तिक २३ गते हेटौंडामा भएको विशेष साधारणसभामा नेतृत्वलाई सहयोग गरेपछि सिईओ प्राप्त गरेको आरोप लाग्दै आएको छ । पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पासँग सहकार्य गर्दै भदौं २५ गते तुलाधारले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको बर्खास्तगीको माग गरेका थिए ।

साधारणसभामा बर्खास्तगीको माग फेस गर्दा तुलाधरले आफू अनुकूलका १५ भोटरलाई अध्यक्षको पक्षमा भोट हाल्न लगाई आफूले भने शेर्पालाई साथ दिँदै भोट बहिस्कार गरेका थिए ।

मल्ल र शाहीको राजीनामा
अध्यक्ष नेम्वाङले अवैधानिक तरवले एन्फा सञ्चालन गर्न खोजेको आरोप लगाउँदै कानुन समितिका संयोजक अनिल मल्ल र पदपूर्ति समितिका संयोजक विराटजंग शाहीले राजीनामा दिएका छन् ।

‘अध्यक्षले निरन्तर अवैधानिक तवरमा एन्फा सञ्चालन गर्न खोजिरहेपछि मैले कानुन समितिबाट राजीनामा दिएको हो ।’ मल्ले भने, ‘पदपूर्ति समितिको संयोजकबाट विराटजंग शाहीलाई हटाएर सबै समितिहरुमा महासचिव पदेन सदस्य रहने व्यवस्था गरियो । जुन अवैधानिक छ ।’

मल्लले तवबी कर्मचारी समितिमा बस्न नमिल्ने बताए । ‘हाम्रो विधानअनुसार तलबी कर्मचारी यस्तो समितिमा बस्न पाइन्न । तर सहमहासचिव र सहकोषाध्यक्षमा कसलाई ल्याउने, कुन-कुन समितिमा कसरी आफ्ना मान्छे राख्ने, सिइओ नियुक्ति गरेर कसरी आफू अनुकुल पार्नेजस्ता विषयमा ग्राण्ड डिजाइन देखियो । यही कारण मैले र मनिष जोशीले पदपूर्ति समितिबाट पनि राजीनामा दियौं ।’

यसैगरी एन्फाले बागबन्डा मिलाउन सहकोषाध्यक्षमा नुवाकोट प्रतिनिधि पूर्णमान चित्रकारको ठाउँमा प्रविण यादवलाई ल्याएको छ ।

बैठकमा सहमहासचिवमा वशन्त अर्यालले राजीनामा दिइसकेको भनेर अध्यक्षले भनेकोका थिए । तर अर्याल भने राजीनामा दिएको छैनन्  । उनी रिसाएर बैठकबाट बाहिरिएको पनि स्रोतले बतायो । अर्यालसँग भने सम्पर्क हुन सकेन ।