प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका

प्रधानमन्त्री कपका लागि बागमतीको टोली घोषणा

फाइल फोटो

काठमाडौं । बिहीबारदेखि सुरु हुने प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय प्रतियोगिताका लागि बागमती प्रदेशको घोषणा भएको छ ।  

बागमती प्रादेशीक क्रिकेट संघले सोमबार अस्मिना कर्माचार्यको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

यसैगरी टोलीको प्रशिक्षकमा सुधिरकुमार महर्जन, व्यवस्थापकमा निरा राजोपाध्याय र प्राविधिक विश्लेषकमा राजन शाह छन् ।

बागमतीले प्रदेश छनोटसँगै इलिट ट्रफी र नेपाल एपिएफ क्लबसँग ३ खेलको शृंखलामार्फत अन्तिम टोली घोषणा गरेको हो ।

बागमतीले पुस ५ मा मधेश प्रदेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

प्रतियोगिता पुस ५ देखि १७ गतेसम्म मुलपानी र कीर्तिपुरस्थित त्रिभुवन विश्विद्यालयको क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ७ प्रदेश र नेपाल एपिएफ क्लबको सहभागीता रहनेछ ।

प्रतियोगितामा पहिलो पटक सबै सहभागी टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।

शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली फाइनलमा पुग्दा पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ । एलिमिनेटरमा तेस्रो र चौथो स्थानमा रहने टोली भिड्नेछन् । एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।

बागमती प्रदेशको टोली : 

अस्मिना कर्माचार्य (कप्तान), सोनी पाख्रिन, कन्चन श्रेष्ठ, खुशी डंगोल, मनिषा उपाध्याय, हेलिसा गुरुङ, अस्मिता खरेल, कृष्मा गुरुङ, संस्कृति फुयाल, सलिना सिलवाल, सबिकाकुमारी यादव, यशोदा विष्ट, विपिशा शाही, यशु पाण्डे

वैकल्पिक खेलाडीः सुजिता थापा, एली यादव, अनिशा मजाकोटी र लक्ष्मी माया रुम्बा