एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला

तेस्रो एकदिवसीयामा पाकिस्तान सुपर ओभरमा विजयी

काठमाडौं । घरेलु टोली न्युजिल्यान्डविरुद्ध महिला एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा पाकिस्तान सुपर ओभरमा विजयी भएको छ ।

अन्तिम खेल गुमाएपनि ३ खेलको शृंखला न्युजिल्यान्डले २-१ ले  आफ्नो पक्षमा पारेको छ । न्युजिल्यान्ड पहिलो खेलमा १ सय ३१ रन र दोस्रो खेलमा १ विकेटले विजयी भएको थियो ।

सुपर ओभरमा पाकिस्तानले प्रस्तुत गरेको १२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १ बाँकी छँदा २ विकेट गुमाएर ८ रन मात्र बनाउन सक्यो ।

पहिलो बलमा सादिया इक्बालले सोफी डेभिनलाई १ रन दिइन् । दोस्रो बलमा एमेलिया केर फातिमा सानाबाट क्याच भइन् ।

तेस्रो बलमा म्याडी ग्रिनले १ रन लाइन् । चौथो बलमा डेभिनले छक्का प्रहार गर्दै न्युजिल्यान्डलाई जित नजिक  पुर्याइन् । तर पाँचौ बलमा डेभिन आलिया रियाजबाट क्याच भएपछि पाकिस्तानले रोमाञ्चक जित निकाल्यो ।

त्यसअघि पाकिस्तानले सुपर ओभरमा ११ रन बनाएको थियो । ओभरको पहिलो बलमा आलिया रियाजले एमेलिया केरलाई चौका प्रहार गरिन्  ।

दोस्रो बल डट रहँदै तेस्रो र चौथो बलमा रियाजले २ रन लिइन् । पाँचौं बलमा लेग बाईमार्फत १ रन प्राप्त हुँदा छैटौं बलमा फातिमा सानले २ रन लिइन् ।

त्यसअघि क्राइस्टचर्चस्थित हेग्ली ओभलमा न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय ५१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५० रन नै बनायो ।

पाकिस्तानका लागि बिस्मा मारुफले ८६ बलमा ५ चौकाको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरिन् । यसैगरी आलिया रियाजले ४४, कप्तान फातिमा सानाले ३६, नटालिया परवेजले २६, सिद्रा अमिनेले २४ र निन्जा अल्वीले २३ रन बनाए ।

तेस्रो विकेटका लागि बिस्मा र आलियाले १ सय १ रनको साझेदारी गरे । न्युजिल्यान्डका लागि लिया तहुहु र एमेलिया केरले समान २ तथा कप्तान सोफी डेभिनले, फ्रान जोनस, जेस केर र हान्ना रोवीले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५० रनको योगफल तयार पारेको थियो ।

न्युजिल्यान्डका लागि एमेलिया केरले ८७ बलमा ५ चौकाको मद्दतले सर्वाधिक ७७ रनको योगदान गरिन् । यसैगरी म्याडी ग्रिनले ६९ बलमा ३ चौकाको मद्दतले अविवजित ६५, सोफी डेभिनले २९, सुजी बेट्सले २४, जेस केरले १९ र हान्ना रोवीले ११ रन बनाए ।

एमेलियाले चौथो विकेटका लागि म्याडीसँग ७० र तेस्रो विकेटका लागि सोफीसँग ५६ रनको साझेदारी गरिन् । पाकिस्तानका लागि नशरा सन्धु र गुलाम फातिमाले समान दुई तथा उम इ हानीले १ विकेट लिए ।