सदस्यसचिव सिलवाल जापान लागे

काठमाडौं, (खेलाडी)- राष्‍ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल जापानमा हुने टोकियो ओलम्पिक २०२० मा सहभागिता जनाउन शुक्रबार त्यसतर्फ लागेका छन् । 

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले दिएको सेभ दी मिसनको जिम्मेवारी बोकेर नेपाली खेलकुदका कार्यकारी प्रमूख सिलवाल जापान गएका हुन् । सेभ दी मिसन सम्बन्धित देशको एनओसीले सम्बन्धित प्रतियोगिताभरका लागि नियुक्त गर्ने एक व्यवस्थापकीय पद हो ।

सदस्यसचिव सिलवालसहित सुटिङ र जुडो टोलीका खेलाडी तथा प्रशिक्षकहरु पनि टोकियो गएको राष्‍ट्रिय खेलकुद परिषदले जनाएको छ । 

टोकियो ओलम्पिक दौरान सदस्यसचिव सिलवालको अनुपस्थितीमा राखेपका बोर्ड एवं कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरले निमित्त सदस्यसचिवको हैसियतमा कार्यकारी प्रमूखको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।