राष्ट्रपति रनिङ सिल्ड

उसुमा बागमती टिम च्याम्पियन

काठमाडौं । १४औं राष्ट्रपति रनिङ सिल्डको उसुमा बागमती टिम च्याम्पियन बन्यो । बागमतीले पाँच स्वर्ण, पाँच रजत र दुई कांस्य पदक जित्यो ।

त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको प्रतियोगितामा सुदूरपश्चिम पाँच स्वर्ण, तीन रजत र तीन कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कोशीले समान दुई स्वर्ण र कांस्य पदक हात पार्यो ।

१२ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा दोश्रो दिन आठ स्वर्णको टुंगो लागेको थियो ।

दोश्रो दिन बिहीबार सान्सौंको छात्र ४२ केजीमा सुदूरपश्चिमका सुशान्त चौधरी, ४५ केजीमा सुदूरपश्चिमका मोहन विष्ट र ४८ केजीमा बागमतीका अरुण सुनारले स्वर्ण पदक जिते ।
सान्सौंकै छात्रा ४२ केजीमा सुदूरपश्चिमकी दिक्षा साउद, ४५ केजीमा सुदूरपश्चिमकी सपना कार्की र ४८ केजीमा कोशीकी सरु राईले स्वर्ण पदक चुमे।

छाङछ्वानको छात्र मा बागमतीका हिमान्शु खड्का तथा  छात्रामा सुदूरपश्चिमकी दिपिका चौधरीले स्वर्ण पदक हात पारे ।

तेक्वान्दोमा पनि बागमती च्याम्पियन
सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको तेक्वान्दोमा चार स्वर्ण एक रजत र पाँच कांस्य पदकका साथ च्याम्पियन बन्यो ।

कोशी तीन स्वर्ण, तीन रजत र पाँच कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको सुदूरपश्चिमले समान तीन स्वर्ण र कांस्य पदक प्राप्त गर्यो ।  

मेधश र कर्णालीले समान एक स्वर्ण पदक हात पारे ।

तेक्वान्दोमा १२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । पहिलो दिन सात स्पर्धाको फाइनल भएको थियो ।

दोस्रो दिन बिहीबार छात्रा ४४ केजीमुनिमा झरना नाथ र ४६ केजीमुनिमा दीपा जैसी तथा छात्र ४८ केजीमुनिमा शिशीर ठगुन्ननले सुदूरपश्चिमलाई स्वर्ण पदक दिलाए । छात्र ५५ केजीमुनिमा बागमतीका निश्चल धोली तथा छात्रा ४९ केजीमुनिमा कोशीकी रेस्मा भुजेलले स्वर्ण पदक जिते ।

करातेमा बागमती फेरि च्याम्पियन
मार्सल आर्ट्समा वर्चश्व जमाएको बागमतीले करातेमा पनि टिम च्याम्पियन बन्ने क्रममा चार स्वर्ण, दुई रजत र दुई कांस्य पदक हात पार्यो ।

सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोयगितामा कोशी दुई स्वर्ण, पाँच रजत र एक कांस्य पदकका साथ दोश्रो भयो । दुई स्वर्ण, एक रजत र एक कांस्य पदक प्राप्त गरेको लुम्बिनी तेस्रो स्थानमा रह्यो ।  

कर्णाली र सुदूरपश्चिम समान दुई स्वर्ण प्राप्त गरे ।  करातेमा पनि १२ स्वर्णकै लागि भिडन्त भएकोमा पहिलो दिन आठ स्वर्णको छिनोफानो लागेको थियो ।

दोस्रो दिन बिहीबार छात्रको ४२ केजीमुनिमा लुम्बिनीका शिखर नेपाली तथा ५२ केजीमुनिमा कर्णालीका लक्ष्मणकुमार शाहीले स्वर्ण जिते । छात्राको ६० केजीमुनिमा सुदूरपश्चिमकी सोनिया तिरुवा तथा ४५ केजीमुनिमा कर्णालीकी प्रियंका शाहीले स्वर्ण चुमे ।