बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड

काठमाडौं लगातार तेश्रो पटक च्याम्पियन

काठमाडौं । १४औं बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा काठमाडौं च्याम्पियन बनेको छ ।

काठमाडौं ३१ स्वर्ण, १२ रजत र नौ कांस्य पदकका साथ समग्रमा टिम च्याम्पियन बनेको काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतीले जानकारी दिए ।  काठमाडौं लगातार तेश्रो पटक च्याम्पियन बन्दै रनिङ सिल्ड आफ्नो नाममा लेखाउन सफल भयो ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित प्रतियोगितामा १० स्वर्ण, ६ रजत र १३ कांस्य पदक जितेको चितवन दोश्रो भयो । तेश्रो स्थानको ललितपुरले पाँच स्वर्ण, चार रजत र ६ कांस्य पदक हात पार्यो ।

६६ स्वर्णका लागि भएको प्रतिस्पर्धामा मकवानपुर र भुक्तपुरले समान चार, धादिङ, दोलखा, काभ्रे, सिन्धुली र नुवाकोटले समान दुई तथा रामेछाप र सिन्धुपाल्चोकले समान एक स्वर्ण पदक जिते ।

विजेतालाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीलगायतले पुरस्कृत गरे । ६ खेल समावेश प्रतियोगितामा १३ जिल्लाको सहभागिता थियो ।

यसै प्रतियोगिताबाट राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने १४औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताका लागि बागमतीबाट खेलाडी छनोट हुनेछन् । केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड बैशाख ४ देखि ६ गतेसम्म हुनेछ ।