युरोपियन च्याम्पियन्स लिग

बायर्न म्युनिख क्वार्टरफाइनलमा

काठमाडौं । ह्यारी केनको दुई गोल प्रेरित बायर्न म्युनिख युईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा लाजियोलाई ३–० हराएको हो ।

यसअघि पहिलो लेगमा लाजियो घरेलु मैदानमा १–० ले विजयी भएको थियो । तर, दोस्रो लेगमा म्युिनख भ्रमणमा निस्केको सिरी ए टोलीले कमजोर प्रदर्शन गरेको हो । समग्रमा जर्मन क्लब बायर्न म्युनिख ३–१ ले विजयी भयो ।

घरेलु मैदानमा बायर्नलाई जिताउन केनले दुई तथा थोमस मुलरले एक गोल गरेका हुन् । यसै खेलबाट केन युरोपियन प्रतियोगितामा ५० गोल पूरा गर्ने पहिलो इङ्लिस खेलाडी बनेका छन् ।

खेलको ३८औं मिनेटमा केनले पहिलो गोल गरे । राफेल गुरेइरोको पासमा केनले गोल गरेका हुन् । पहिलो हाफको इन्जुरी समयमा थोमस मुलरले गोल गर्दै अग्रता २–० को बनाए । डि लिटको पासमा गोल गरेपनि खेल बायर्नको नियन्त्रणमा आएको थियो ।

केनले ब्यक्तिगत दोस्रो तथा टोलीको लागि ६६औं मिनेटमा गोल गरेका हुन् । लेरोय सानेको पासमा उनले टोलीको लागि तेस्रो गोल गरेका हुन् ।

राति नै भएको अर्काे खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले रियाल सोसिडाडलाई समग्रमा ४–१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनायो ।