इक्वालिटी कप महिला क्रिकेट प्रतियोगिता

इक्वालिटी कप महिला क्रिकेट सुरु

प्रतियोगिताको उद्घाटन गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द

विराटनगर । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर इक्वालिटी कप महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

नेपाल क्रिकेट फाउन्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा आयोजना गरेको तेस्रो संस्करणमा मंगलबार मोरङ र इलाम विजयी भएका छन् ।

पहिलो खेलमा मोरङले सप्तरीलाई ८६ रनको फराकिलो रन अन्तरले पराजित गर्यो ।  मोरङले प्रस्तुत गरेको १५६ रनको लक्ष्य पछ्याएको सप्तरीले १८.४ ओभरमा ६९ रनमा समेटियो ।

सप्तरीका लागि सुस्मीता यादवले सर्वाधिक १२ रन जोडिन् । मोरङकी सानु राजवंशी र सुवेक्षा लिम्बुले समान तीन विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मोरङले निर्धारित २० ओभरमा तीन विकेट गुमाँदै १५५ रनको योगफल तयार पार्यो । मोरङका लागि सानु राजवंशीले ५९ र नमिता श्रेष्ठले १९ रन जोडिन् । सम्तरीका लागि बन्दना रजक र मञ्जु रामले समान एक विकेट लिए ।

दोस्रो खेलमा इलामले सिरहामाथि पाँच रनको रोमाञ्चक जित निकाल्यो । इलामले प्रस्तुत गरेको १४७ रनको लक्ष्य पछ्याएको सिरहाले २० ओभर नै ब्याटिङ गरे पनि पाँच विकेट गुमाउँदै १४१ रन मात्र बनाउन सक्यो ।

सिरहाका लागि मिना महतोले ३३ र  निलम महतोले २८ रन बनाए । इलामका लागि पुस्मिता मुखियाले दुई र जानुका खवासले एक विकेट लिए ।

त्यसअघि टस जितेर  ब्याटिङ रोजेको इलामले निर्धारित २० ओभरमा चार गुमाउँदै १४६ रनको योगफल तयार पार्यो । इलामका लागि प्रियंका राईले अविजित ५३ र  चिजा राईले १९ रन बनाए । 

सिरहाका लागि अर्चना महतो, अजमेरी खातुन, मिना महतो र निलम महतोले समान एक विकेट लिए ।

प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले गरेका थिए ।