फिफ्टिन्स रग्बी

फिफ्टिन्स रग्बी च्याम्पियनसिप आइबारदेखि हुने

काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा राष्ट्रिय स्तरको फिफ्टिन्स रग्बी च्याम्पियनसिप २०८० फागुन ६ (आइतबार) देखि हुने भएको छ ।

फागनु १२ सम्म हुने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित दशरंगशालामा खेलाइनेछ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, गोर्खाली रग्बी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लबको सहभागिता रहेनछ।

सहभागी टोलीले १ महिना अघिदेखि नै प्रशिक्षण सुरु गरिसकेका छन्। साथै, पछिल्लो समयमा नेपाल रग्बीको मुख्य प्रशिक्षक श्री विजेलाथ सनले सबै क्लबहरुमा प्रशिक्षण गराइरहेका छन्।

यस प्रतियोगिताका लागि रेफ्रीका रूपमा प्रेमबहादुर कोइराला र श्रीलंकाका गिहान यातावरा छन्।  प्रतियोगितामा सहभागी सम्पुर्ण खेलाडीहरुको खेल दुर्घटना विमा गरिएको आयोजनकले बताएको छ ।

प्रतियोगिताको लागि अस्पताल साझेदारी कलंकीस्थित श्री नेशनल अस्पताल र वार्षिक प्रायोजनमा श्री गोक्यो वेयर्स छन् ।

प्रतियोगितामा सहभागी टोलीका कप्तान

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँसहित रनिङ ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ र अन्य सहभागीले प्रमाणपत्र प्राप्त गर्नेछन्।

यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण एसिया रग्बी र नेपाल रग्बी संघको आधिकारिक फेसबुक च्यानलबाट हुनेछ। यसैगरी यो प्रतियोगिताबाट नेपालमै हुने बंगलादेश नेपाल रग्बी शृंखलाका लागि राष्ट्रिय टोलीका खेलाडी छनोट पनि गरिनेछ । 

प्रतियोगिताको उद्घाटन खेलमा गोर्खाली रग्बी र नेपाल पुलिस क्लब भिड्नेछन् । सोहि दिन  त्रिभुवन आर्मी र नेपाल एपिएफ क्लबबीच दोस्रो खेल हुनेछ ।