विश्वविद्यालय खेलकुद प्रतियोगिता

विश्वविद्यालय खेलकुदः टियु च्याम्पियन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टियु) प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगितामा मंगलबार चम्पियन बनेको छ । २३ स्वर्ण समावेश प्रतियोगितामा टियुले१८ स्वर्ण, आठ रजत र तीन कांस्य पदक जित्यो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा सुदूरपश्चिम विश्वविद्यालय तीन स्वर्ण, चार रजत र नौ कांस्य पदका साथ दोश्रो भयो । तेश्रो स्थानको लुम्बिनी बौद्ध विश्वविद्यालयले एक स्वर्ण तथा समान दुई  रजत र कांस्य पदक हात पार्यो । 

बाँकी एक स्वर्ण नेपाल संस्कृत विश्वविद्यालयको नाममा रह्यो । नेपाल संस्कृतले १-१ रजत र कांस्य पदक पनि जित्यो ।

विभिन्न चार खेल समावेश प्रतियोगिताको एथलेटिक्सको दोश्रो दिन टियुले थप चार स्वर्ण जित्यो । टियुले पहिलो दिन पाँच स्वर्ण पदक जितेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको १ सय मिटर दौडको पुरुषमा सुदूरपश्चिमका मुकेश विष्ट र महिलामा लुम्बिनीकी अनिशा कुँवर क्षेत्री, सटपुटको पुरुषमा टियुका वीरेन्द्र कुँवर र महिलामा टियुकी संचिता घिमिरे तथा ८ सय मिटर दौडको पुरुषमा टियुका विकेश घिमिरे र महिलामा टियुकी राज्यलक्ष्मी राउतले स्वर्ण पदक जिते ।

ब्याडमिन्टनमा टियुकोकै वर्चस्व रह्यो । पाँच स्पर्धामा प्रतिस्पर्धा भएको ब्याडमिन्टनमा टियुले चार स्वर्ण जित्यो । सुदूरपश्चिमले एक  स्वर्ण पदक हात पार्यो ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको पुरुष सिंगल्समा टियुका सुनिल कार्की, महिला सिंगल्समा टियुकी निसम सुब्बा, पुरुष डबल्समा सुदूरपश्चिमका पुस्करराज भट्ट र प्रकाश विष्ट, महिला डबल्समा टियुका इस्मिता बढुवाल र निसम सुब्बा तथा मिक्स डबल्समा टियुका सुनिल कार्की र निसम सुब्बाले पहिलो स्थान हात पारे ।

टेबल टेनिसको पुरुष सिंगल्समा गनन्जय दाहाल तथा महिला सिंगल्समा लस्ता महर्जनले स्वर्ण पदक जिते । दुवै टियुका हुन् ।

पुरुष भलिबलको उपाधिमाथि पनि टियुले नै कब्जा गर्यो । जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा भएको फाइनलमा टियूले मध्यपश्चिम विश्वविद्यालयलाई २५-१८, २५-१६ को सोझो सेटमा पराजित गर्यो । पोखरा विश्वविद्यालय कृषि तथा वन विश्वविद्यालयलाई १७-२५, २५-१७,१५-७ ले हराउदै तेश्रो भयो ।

विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइराला, निमित्त सदस्यसचिव प्रकाशकुमार कुसारी, सदस्य पेमा डोल्मा लामा, त्रिभुवन विश्वविद्यालयका खेलकुद निर्देशक पशुपति अधिकारी, गण्डकी विश्वविद्यालयका खेलकुद संयोजक डा. मधुसदन सुवेदी, काठमाडौं विश्वविद्यालयका खेलकुद निर्देशक राजेन्द्र जोशी, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ललगायतले  पुरस्कृत गरे ।

दुई दिने प्रतियोगितामा १० विश्वविद्यालयका २ सय ८० खेलाडी सहभागी थिए ।