एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड

स्पोर्टस अवार्डः युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक

वर्ष युवा खेलाडीको मनोनयनमा पारेका देव खनाल

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २०औं संस्करणका लागि  मंगलबार उत्कृष्ट वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको छ । पहिलो चरणमा दुवै विधामा उत्कृष्ट ८ मनोनयनमा परेका छन् ।

मञ्चले विगतमा चार विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गर्दै आएको थियो । यस पटकदेखि नयाँ प्रयोग थालेको हो । वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने बढीभन्दा बढी खेलाडीहरूलाई स्पोर्टस अवार्डमा समेट्ने उद्देश्यले यो प्रयोग गरिएको हो ।

मनोनयनमा परेका आठ जनाबाट उत्कृष्ट तीनको छनोट केही दिनमा सार्वजनिक गरिनेछ । अन्तिम मनोनयन सूचीमा परेका तीनमध्येबाट कार्यक्रमको दिन विजेता चयन गरिनेछ । 

वर्षका युवा खेलाडी मनोनयनमा राममाया बुढा (एथलेटिक्स), सुष्मा तामाङ (बक्सिङ), सुजाता तामाङ (फुटबल), युनेश बुढाथोकी (फुटबल), विजय बाटा (बक्सिङ), देव खनाल (क्रिकेट), दीपेश कँडेल (क्रिकेट), सद्भाव आचार्य (गल्फ) परेका छन् ।

वर्ष प्रशिक्षकको मनोनयनमा पारेका मोन्टी देशाई
 

वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयनमा चन्द्र गुरुङ (एथलेटिक्स), दीपक महर्जन (बक्सिङ), भगवती रानामगर (फुटबल), अनन्त थापा (फुटबल), भरत शाह (भलिबल), ओङ्देन लामा (पौडी), जगत टमाटा (क्रिकेट) र मोन्टी देशाई (क्रिकेट) परेका छन् । 

वर्ष २०७९ सालमा गरेको प्रदर्शनका आधारमा खेलाडी र उसलाई सफलता दिलाउन महत्वपूर्ण भूमिका खेलेका प्रशिक्षक मनोनयनमा परेका हुन् । 

स्पोर्टस अवार्ड माघ २८ गते होटल याक एण्ड यतीमा हुँदैछ । अवार्डअन्तर्गत तीन विधाको मनोनयन सार्वजनिक भइसकेको छ । यसपालि सर्ट लिस्टको रुपमा वर्ष खेलाडी पुरुष र महिलाका समान आठ खेलाडी मनोनयनमा परेका छन् । सर्ट लिस्टबाट तीन खेलाडी पुनः छानिने छन् । त्यसमध्येबाट अवार्ड कार्यक्रमको दिन विजेता घोषणा हुनेछ ।

पिपल्स च्वाइस विधाको मनोनयन पनि सार्वजनिक भइसकेको छ । मनोनयनमा रजनी श्रेष्ठ (बडिविल्डिङ), सिक्का सुवाल श्रेष्ठ (टेबल टेनिस), विप्वललाल श्रेष्ठ ९कराते०, अनन्त तामाङ (फुटबल) र निरुता ठगुन्ना (भलिबल) छन् । उनीहरूका लागि इ-सेवाबाट भोटिङ भइरहेको छ ।

यसैगरी आयोजक नेपाल खेलकुद पत्रकार मञ्च तथा मुख्य प्रायोजक हंशराज हुलासचन्द कम्पनीको आधिकारिक फेसबुक पेजबाट लाइक, सेयर र कमेन्ट गरेर पनि भोट गर्न सकिन्छ । त्यसबाहेक नेपाल ओलम्पिक संघमा आबद्ध २७ राष्ट्रिय खेल संघका प्रमुख प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका सदस्यले मत दिन पाउने छन् ।