भारत-इङ्ल्यान्ड क्रिकेट

हारका बावजुद बजबलमा गौरवान्वित छन् इङ्ल्यान्डका कप्तान स्टोक्स

काठमाडौं । इङ्ल्यान्डका कप्तान बेन स्टोक्सले भारतविरुद्धको दोस्रो टेस्टमा १०६ रनको फराकिलो अन्तरमा पराजित भए पनि आफ्नो टोलीका खेलाडीहरुको मानसिकताको प्रशंसा गरेका छन् ।

भ्रमणकारी इङ्ल्यान्डले लगातार दोस्रो टेस्ट जित्नका लागि ३९९ रनको लक्ष्य पाएको थियो । तर २९२ रनमा सबै १० विकेट गुमाएपछि इङल्यान्ड फराकिलो हारको भागिदार बन्यो । दोस्रो टेस्टको नतिजापछि पाँच खेलको शृंखलामा भारतले १-१ को बराबरी गरेको छ ।

‘हामीलाई आफ्नो क्षमतामा विश्वास छ, जुन हामीलाई समर्थन गर्नेले पनि देखेका छन्,’ दोस्रो टेस्टको विषयमा प्रतिक्रिया दिने क्रममा स्टोक्सले भने, ‘दुई वा तीन वर्षअघि हामीलाई यस्तै लक्ष्य प्राप्त भएको भए कसैले पनि हाम्रो सम्भावना छ भनेर समेत सोच्ने थिएनन् । तर अहिले नतिजा जस्तो भए पनि खेल दौरान हामी जित्छौं भन्ने लागेको थियो ।’

विसाखापट्टनममा भएको दोस्रो टेस्टमा इङ्ल्यान्डले टेस्ट क्रिकेटमा सबभन्दा ठूलो स्कोर पछयाइरहेको थियो । भारतमा भारतविरुद्ध कुनै पनि टिमले पछ्याएको पनि यो सबभन्दा ठूलो स्कोर थियो ।

स्टोक्सको नेतृत्वमा इङल्यान्डले पछिल्ला दुई वर्षमा पाँच पटक २५० भन्दा कमको लक्ष्य प्राप्त गरेको थियो । गत साता हैदराबादमा पनि टोलीले पहिलो इनिङमा १९० रनले पछि पर्नाका बावजुद पहिलो टेस्ट जितेको थियो ।

विसाखापट्टनममा चौथो दिन बिहान ९५-१ को अवस्थामा रहँदा रेहान अहमदको विकेट गुमाएपछि इङ्ल्यान्डको ब्याटिङ पतन सुरु भएको थियो । ओपनर जाक क्रले ७३ रनमा आउट हुनु टोलीका लागि अर्को ठूलो धक्का थियो । केही समयको अन्तरमा बेन स्टोक्स ११ रन बनाएको अवस्थामा रनआउट भएपछि भने इङ्ल्यान्डको खेल जित्ने झिनो आशा पनि समाप्त भएको थियो ।

‘मैदान उत्रिएपछि हामी सधै जित्न चाहन्छौं । यसकारण पनि हार हाम्रा लागि निक्कै निराशाजनक छ । तर हामीले ठूलो लक्ष्यमा पनि नहडबडाइकन सहज रुपमा खेल्यौं, जुन हाम्रो योजनाअनुसार थियो,’ स्टोक्सले भने, ‘सबैले सोध्छन, के हो बजबल ? भनेर । यो हाम्रो मानसिकता हो । हाम्रो खेल्ने सकारात्मक शैली हो । जुन मैदानमा हामीले प्रदर्शन गरिरहेका छौं ।’

स्टोक्सले अन्तिम दिन ओली पोप, बेन फोकस र टम हार्टली विरामी परेको पनि बताए । उनका अनुसार घुँडाको चोटका कारण दोस्रो टेस्टमा अनुपस्थित रहेका ज्याक लिच पनि पाँचौं दिन विरामी परेका थिए ।

‘नतिजाका लागि यो पक्कै पनि बहाना होइन । तर पाँचौं दिन बिहान उठ्दा हाम्रा तीन खेलाडी विरामी अवस्थामा थिए । सबथोकका बावजुद टिमका सबै खेलाडीले उच्च मनोबलका साथ सकारात्मक क्रिकेट खेले । यसमा हामीलाई गर्व छ,’ स्टोक्सले भने ।