इङ्लिस प्रिमियर लिग

टोटनहमको नजरमा राफिन्हा र नेटो

काठमाडौं । इङ्लिस प्रिमियर लिगको टोली टोटनहमले आगामी समर सरुवा बजारमा बार्सिलोनाका विंगर राफिन्हा वा उल्भसका स्टार पेड्रो नेटोलाई भित्र्याउने तयारी गरिरहेको बताइएको छ ।

लिड्सका पूर्व खेलाडी राफिन्हाले जारी सिजनमा जाभीको बार्सिलोनाका लागि स्पेनिस ला लिगामा १५ खेल खेलेका छन् । त्यसक्रममा उनले तीन गोल गर्नुका साथै पाँच एसिस्ट गरेका छन् ।

२७ वर्षे राफिन्हाका लागि बार्सिलोनाले ६ करोड युरो सरुवा रकम माग गरेको छ । टोटनहमले त्यसमा सहमती जनाए उनी सिजनको अन्त्यमा प्रिमियर लिगमा फर्किने छन् ।

बेलायती सञ्चार माध्यमहरुले जनाएअनुसार एन्गे पोस्टेकोग्लुले समर सरुवा बजारबाट कस्ता खेलाडी भित्र्याउने भन्ने सोच बनाइसकेका छन् । उनको सोचअनुसार खतरनाक, राम्रो ड्रिबलिङ कला भएको खेलाडी लन्डन पुग्ने सम्भावना छ ।

सञ्चार माध्यमहरुका अनुसार राफिन्हासँगै उल्भसका पोर्चुगाली अन्तर्राष्ट्रिय स्टार नेटो पोस्टेकोग्लुको लागि अर्का उपयुक्त विकल्प हुन् । २३ वर्षे नेटो जारी सिजनमा ग्यारी ओनिलका मुख्य हतियारमध्ये एक हुन् । प्रिमियर लिगमा सर्वाधिक एसिस्ट गर्ने खेलाडीको सुचीमा आठ एसिस्टका साथ नेटो तेस्रो स्थानमा छन् । उनीभन्दा अगाडि किरन ट्रिपियर र ओली वाट्किन्समात्र छन् ।

व्यक्तिगत रुपमा कसलाई अनुबन्ध गर्ने भन्ने विषयमा टोटनहमले अझै अन्तिम निर्णय गरिसकेको छैन । तर उत्तरी लन्डनको टोलीलाई पुननिर्माण गर्ने पोस्टेकोग्लुको योजनाको निरन्तरताका लागि क्लब व्यवस्थापनले आवश्यक रकम भने उपलब्ध गराउने ग्यारेन्टी गरिसकेको बताइएको छ । गत समरको सरुवा बजारमा ह्यारी केनलाई गुमाएपछि टोटनहम उनको विकल्प खोजीमा व्यग्रताका साथ लागेको छ ।