साफ यु-१९ महिला च्याम्पियनसिप

नेपाललाई हराउँदै भारत फाइनलमा

काठमाडौं । लिग चरणको अन्तिम खेलमा नेपालमाथि ४-० को सहज जित निकाल्दै भारत बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल रंगशलामा भारतलाई जित दिलाउन नेहाले दुई तथा सुलन्जना राहुल र सिन्डी कोल्नीले एक गोल गरे । चारै गोल दोस्रो हाफमा भएका हुन् ।

खेलको ५४औं मिनेटमा नेहाको गोलमार्फत भारतले अग्रता लिएको थियो । ८० औं मिनेटमा स्नेहाले नै टोलीको अग्रता दोब्बर बनाइन् ।

निर्धारित समय सकिन पाँच विकेट बाँकी छँदा सुलन्जनाले गोल गरेपछि भारत ३-० ले अगाडि बढ्यो । इन्जुरी समयमा सिन्डीले गोल गर्दै भारतलाई ४-० को सहज जित दिलाइन् ।

भारतले उपाधिका लागि घेरलु टोली बंगलादेशको सामना गर्नेछ । नेपाल, भारत, बंगलादेश र भुटानसम्मिलित प्रतियोगितामा लगातार दुई खेल जित्दै बंगलादेश फाइनलमा स्थान बनाइसकेको छ । उसले बलियो नेपाल र भारतलाई नै हराएको थियो ।

पहिलो खेलमा बंगलादेशसँग ३-१ ले पराजित नेपालले दोस्रो खेलमा भुटानलाई १-० ले हराएको थियो । भारतले पहिलो खेलमा भुटानलाई १०-० ले हराउँदा दोस्रो खेलमा बंगलादेशसँग १-० ले पराजित भएको थियाे ।