राष्ट्रिय खेलकुद परिषद

राखेप र कागेश्वरी मनोहरा नगरपालिकाबीच सम्झौता

काठमाडौं।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कागेश्वरी मनोहरा नगरपालिकाबीच कागेश्वरी मनोहरा नगरपालिकालाई खेलकुद नगरी बनाउने अभियानलाई मूर्त रुप दिनका लागि विभिन्न खेलका पूर्वाधार बनाउने, खेलकुदका विविध गतिविधि आपसी सहयोगमा गर्ने, विभिन्न प्रशासनिक र प्राविधिक विषयमा सहयोग आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

राखेपकोतर्फबाट सदस्यसचिव टंकलाल घिसिङ र कागेश्वरी मनोहरा नगरपालिकाको तर्फबाट मेयर उपेन्द्र कार्कीले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यसैगरी नगरपालिकाले रग्बी, भलिबल र बक्सिङको पूर्वाधार निर्माणका लागि सम्बन्धित खेलका राष्ट्रिय संघसँग पनि जग्गा उपलब्ध गराउने सम्झौता गरेको छ । 

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरे, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार नगरपालिकाले रग्बीका लागि वडा ७ स्थित सोमतीर्थमा रहेको एक सय आठ रोपनी १२ आना तीन पैसा तीन दाम जग्गा उपलब्ध गराउने भएको छ । 

भलिबललाई वडा ६ स्थित तिवारी टोलमा रहेको ६३ रोपनी आड आना तथा  बक्सिङका लागि वडा ६ स्थित अधिकारी टोलमा  रहेको ८६ रोपनी पाँच आना एक दाम जग्गा उपलब्ध गराउने सहमती भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव घिसिङले पूर्वाधार निर्माणका लागि सम्बन्धित संघले आफ्नो अन्तर्राष्ट्रिय महासंघसंग पनि समन्वय गरी श्रोत जुटाउन पहल गर्नु पर्नेमा जोड दिदै पूर्वाधार निर्माण गर्दा बिजुली, पानी, सडक आदिमा पनि ध्यान दिन आवश्यक रहेको बताए ।

मेयर कार्कीले नगरपालिकाको प्रस्तावलाई सहर्ष स्वीकार गरेकोमा सदस्यसचिवलाई धन्यवाद दिदै कागेश्वरी मनोहरा नगरपालिकालाई खेलकुद नगरी बनाउने योजना अनुरुप नगरपालिकामा भएका जग्गालाई अधिकतम खेलकुदका लागि प्रयोग गर्ने प्रतिबद्धता जनाए ।  उनले खेलकुदको माध्यमबाट चिनाउन नगरपालिकालाई खेलकुद नगरीका रुपमा विकास गर्ने योजना रहेको बताउदै सम्झौता ऐतिहासिक भएको बताए ।