नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुदमा बिहीबारबाट थप ६ खेल

पोखरा । नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत भोली बिहीबारबाट थप ६ खेल सुरु हुने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले बनाएको तालिकाअनुसार बिहीबारबाट गल्फ, फुटबल, भलिबल, फुलकन्ट्याक्ट कराते र बुद्धिचाल प्रतियोगिता सुरु हुनेछन् । तालिकाअनुसार हिमालयन गल्फ कोर्समा बिहीबार सुरु हुने गल्फ प्रतियोगिता तीन दिन चल्नेछ ।

त्यस्तै हक्कीअन्तर्गत महिलाको प्रतियोगिता गण्डकी बोर्डिङ स्कुलको मैदानमा कात्तिक २ गतेसम्म चल्नेछ भने पुरुषको प्रतियोगिता ह्याम्जाको गौरीसंकर खेल मैदानमा कात्तिक ३ गतेसम्म हुने तालिका छ । तर मैदान तयार नभएका कारण बिहीबार पुरुष हक्की सुरु हुनेमा भने शंका छ । 



पुरुषको फुटबल प्रतियोगिता पोखरा रंगशालामा बिहीबार सुरु भएर राष्ट्रिय खेलकुद समापनको दिन कात्तिक ३ गतेसम्म चल्नेछ भने महिला प्रतियोगिता स्याङजाको वालिङस्थित पिएन क्याम्पसको मैदानमा सुरु हुनेछ । महिला फुटबलको फाइनल भने कात्तिक २ गते पोखरा रंगशालामा हुनेछ ।

यसैगरी महिला भलिबल म्याग्दी खेल मैदानमा कात्तिक २ गतेसम्म हुने तालिका छ । पुरुष भलिबल प्रतियोगिता भने राष्ट्रिय खेलकुदको उद्घाटन हुने दिन शुक्रबार पोखरा रंगशालामा सुरु हुनेछ । प्रतियोगिताको फाइनल कात्तिक ३ गते हुनेछ ।

यसैगरी पोखराको प्रदर्शनी हलमा बिहीबार सुरु हुने फुलकन्ट्याक्ट कराते तीन दिनसम्म चल्नेछ भने गोर्खामा हुने बुद्धिचाल प्रतियोगिता कात्तिक २ गते सम्पन्न हुनेछ ।

पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशले आयोजना गरिरहेको नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेट काठमाडौंमा यसै महिनाको पुर्वार्धमै सम्पन्न भइसकेको छ । 

पोखरा रंगशालामा महिला क्रिकेट, ब्याड्मिन्टन हलमा फेन्सिङ तथा बहुउद्धेस्सीय कभर्डहलमा ह्यान्डबलका प्रतियोगिता सोमबारबाटै सुरु भइसकेका छन् ।