रोयल इन्फिल्ड

रोयल इन्फिल्डको मिटिओर सार्वजनिक

काठमाडौं । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभले आज इन्फिल्ड मिटिओर ३५० सिसीका तीन फरक मोटरसाइकल सार्वजनिक गरेको छ ।

नक्सालस्थित रोयल इन्फिल्डको शोरुममा त्रिवेणी ग्रुपका निर्देशक सुभाषचन्द्र संघाई र रोयल इन्फिल्डका प्रतिनिधि नेपाल बजार प्रमूख अभिषेक सुक्लाले मिटिओर फायरबल, मिटिओर स्टिलर र मिटिओर सुपरनोभा सार्वजनिक गरे ।

जे प्लेटफर्ममा निर्माण गरिएको मोटरसाइकलमा ३४९ सिसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयर कुल्ड, इलेक्ट्रोनिक फ्युल इन्जेक्सन (इएफआई) रहेको बताइएको छ । इन्जिनले अधिकतम ६१०० आरपिएममा २०.२ ब्रेकहर्स पावर र ४००० आरपिएममा २७ एनएमको टर्क जेनेरेट गर्ने र डअल डिस्क ब्रेक दिइएको बताइएको छ ।

मोटरसाइकलमा १५ लिटरको इन्धन टयांकी रहेको र प्रतिलिटर औषत ४० किलोमिटर माइलेज रहेको कम्पनीको दाबी छ । इजी क्रुजिइङ डिजाइनमा रहेका मोटरसाइकलमा १४०० एमएम ह्विलबेस, ७६५ एमएम सिटको उचाई, ट्विन डाउनटुब स्पाइन फ्रेम, र ट्युबलेस टायरहर रहेकाले खेलकुदीय प्रयोगका लागि उपयुक्त रहेको बताइन्छ ।

विभिन्न रंगमा उपलब्ध मिटिओर फायरबलका लागि कम्पनीले ५ लाख ५० हजार, स्टिलरको ५ लाख ५५ हजार तथा सुपरनोभाका लागि ५ लाख ६५ हजार रुपैयाँ मुल्य तोकेको छ ।