च्याम्पियन्स लिग

सलाहको कीर्तिमानमा लिभरपुलको जित

लन्डन । मोहम्मद सलाह च्याम्पियन्स लिग इतिहासमै सबै भन्दा कम समयमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बनेको दिन लिभरपुलले प्रतियोगिताको अन्तिम १६ प्रवेश सम्भावना बलियो पार्ने क्रममा रेन्जर्समाथि ७-१ को फराकिलो जित निकालेको छ ।

समूह ए अन्तर्गतको खेलको १७औं मिनेटमा स्कट एर्फिल्डले गरेको गोलमा रेन्जर्सले अग्रता लिएको थियो । २४औं मिनेटमा रोबर्टो फिर्मिनोले लिभरपुललाई खेलमा फर्काएका थिए ।

५५औं मिनेटमा र्फिमिनोको गोलमा लिभरपुलले अग्रता लिएको थियो । त्यसको ११ मिनेटपछि डार्विन नुनेजले लिभरपुलका लागि तेस्रो गोल गरे ।

६ मिनेट १२ सेकेण्ड भित्रै सलाहले ह्याट्रिक पूरा गरेसँगै लिभरपुल फराकिलो जिततर्फ अघि बढेको थियो । ७६औं मिनेटमा व्यत्तिगत पहिलो गोल गरेका सलाहले ८० र ८१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । उनको ह्याट्रिकसँगै लिभरपुलले ६-१ को अग्रता लिएको थियो ।

खेल सकिन तीन मिनेट बाँकी रहँदा इलियोटले लिभरपुलका लागि सातौं गोल गरे ।

लिभरपुल चार खेलमा नौ अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको नेपोली भन्दा तीन अंक कम हो । नेपोली भने अन्तिम १६ मा प्रवेश गरेको छ । तेस्रो स्थानको आयाक्सको तीन अंक रह्यो भने चौथो स्थानको रेन्जर्सले अंक खाता खोल्न सकेको छैन ।

समूह ए को शीर्ष स्थान कायम गर्ने क्रममा नेपोलीले आयाक्सलाई ४-२ ले हरायो