नवौं राष्ट्रिय खेलकुद

फेन्सिङमा शिक्षा, इन्दिरा र जलिन्द्रलाई स्वर्ण

काठमाडौं । नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङमा पहिलो दिन सोमबार तीन स्वर्ण पदकको छिनोफानो हुँदा बाग्मतीकी शिक्षा नापित, नेपाली सेनाकी इन्दिरा पौडेल र सुदूरपश्चिमका जलिन्द्र शाहीले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशाला परिसरमा रहेको ब्याड्मिन्टन हलमा सुरु प्रतियोगिताको पुरुष फोइलमा सुदूरपश्चिमका जलिन्द्रले बाग्मतीका सञ्जिप लामालाई हराउँदै स्वर्ण पदकमा कव्जा जमाए । सञ्जिपले रजत पदकमा चित्त बुझाए भने नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका वीर शाही र एपिएफका सेरसिंह ऐरीले कांस्य पदक जिते ।

यसैगरी महिला इपीमा त्रिभुवन आर्मी क्लबकी इन्दिराले स्वर्ण पदक जित्दा आर्मीकै सिता पाठकले रजत तथा आर्मीकै पुजना कुमाल र एपिएफकी जानुका स्याङतानले कांस्य पदक जिते ।

सोमबारै चाडोगरि सम्पन्न बाग्मती प्रदेशकी शिक्षाले स्वर्ण पदक जितेकी थिइन् । यही असोज २८ गते औपचारिक उद्घाटन हुने तयारी रहेको नवौं राष्ट्रिय खेलकुदको यो दोस्रो स्वर्ण पदक थियो । यसअघि असोजको पहिलो साता काठमाडौंमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल पुलिस क्लबले स्वर्ण पदक जितेको थियो । वर्षाका कारण पुरुष क्रिकेटका अधिकांस खेल वासआउट भएका थिए ।

शिक्षाले महिला साबर एकलमा एपिएफकी उर्मिला लामालाई निराश पार्दै नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा पहिलो स्वर्ण पदक जितिन् । उर्मिलाले रजत पदक जित्दा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रविना थापा र मनिषा श्रेष्ठले कांस्य पदक जिते ।

सोमबारै सुरु भएको फेन्सिङ प्रतियोगिताको अर्थमन्त्री जनार्दन शर्माले पोखरा रंगशालास्थित ब्याड्मिन्टन हलमा एक समारोहबीच उद्घाटन गरेका थिए । यसैगरी विजेता खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्य गौतमले पुरस्कार वितरण गरे ।

फेन्सिङमा बाग्मती, गण्डकी, सुदूरपश्चिम, प्रदेश एक, एपिएफ र आर्मी गरि ६ टिमका एक सय ३७ खेलाडीले १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् । फेन्सिङको प्रतियोगिता नवौं राष्ट्रिय खेलकुदको उद्घाटन दिन असोज २८ गते सम्पन्न हुनेछ ।