नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुदको दोस्रो स्वर्ण फेन्सिङकी शिक्षालाई

काठमाडौं । बाग्मती प्रदेशकी शिक्षा नापितले पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशमा जारी नवौं वृहत राष्ट्रिय खेलकुद महोत्सवमा स्वर्ण पदक जितेकी छिन् ।

यही असोज २८ गते औपचारिक उद्घाटन हुने तयारी रहेको नवौं राष्ट्रिय खेलकुदको यो दोस्रो स्वर्ण पदक हो । यसअघि असोजको पहिलो साता काठमाडौंमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल पुलिस क्लबले स्वर्ण पदक जितेको थियो । वर्षाका कारण पुरुष क्रिकेटका अधिकांस खेल वासआउट भएका थिए ।

शिक्षाले महिला साबर एकलमा एपिएफकी उर्मिला लामालाई निराश पार्दै नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा पहिलो स्वर्ण पदक जितिन् । उर्मिलाले रजत पदक जित्दा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रविना थापा र मनिषा श्रेष्ठले कांस्य पदक जिते ।

सोमबारै सुरु भएको फेन्सिङ प्रतियोगिताको अर्थमन्त्री जनार्दन शर्माले पोखरा रंगशालास्थित ब्याड्मिन्टन हलमा एक समारोहबीच उद्घाटन गरेका थिए । यसैगरी विजेता खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्य गौतमले पुरस्कार वितरण गरे ।

फेन्सिङमा बाग्मती, गण्डकी, सुदूरपश्चिम, प्रदेश एक, एपिएफ र आर्मी गरि ६ टिमका एक सय ३७ खेलाडीले १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् । फेन्सिङको प्रतियोगिता नवौं राष्ट्रिय खेलकुदको उद्घाटन दिन असोज २८ गते सम्पन्न हुनेछ ।