फुटबल

महिला-पुरुष फुटबलको तालिका सार्वजनिक

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा एनआरएनए र प्रदेश नम्बर एक भिड्ने भएका छन् । गण्डकीमा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबल बिहीबारदेखि सुरु हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसर बिहीबार नै हुने दोस्रो खेलमा बागमती प्रदेश र मधेस प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरेर लिग कम नकआउट पद्धतिमा प्रतियोगिता सम्पन्न हुनेछ । पुरुष फुटबलको फाइनल कात्तिक ३ गते पोखरा रंगशालामा हुनेछ ।

पुरुष तर्फ सात प्रदेश, तीन विभागीय टिम र एक एनआरएनए गरी ११ टिमको सहभागिता छ ।

यस्तै सोमबार नै जारी भएको तालिकाअनुसार महिला फुटबल पनि बिहीबारदेखि नै सुरु हुनेछ । पहिलो खेलमा नेपाल पुलिस क्लब र बागमती प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ तीन विभागीय टिम र सात प्रदेश गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फको पनि फाइनल खेल ३ गते नै हुनेछ ।