ह्यान्डबल

ह्यान्डबल खेलाडीको जर्सीमा हस्तलिखित नम्बर

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सोमबारदेखि सुरु भएको ह्यान्डबलको महिलातर्फको खेलमा मधेस प्रदेशका खेलाडी हातले नम्बर लेखिएको जर्सी लगाएर कोर्टमा उत्रिएका छन् ।

पोखरास्थित बहुउद्देश्सीय कभर्ड हलमा भएको उद्घाटन खेलमा आर्मीविरुद्ध उत्रिएका मधेस प्रदेशका खेलाडी गैरव्यावसायिक रुपमा कोर्टमा उत्रिएका थिए । यद्यपि, यो खेलाडी तथा मधेस प्रदेशको लापरबार्ही नभई बाध्यता भएको खुलेको छ ।

आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नम्बर नै प्रिन्ट नभएको जर्सी उपलब्ध गराएकाले आफैँले हातले लेख्नु परेको मधेस प्रदेशको ह्यान्डबल टिमका व्यवस्थापक पवन कुमार लालले खेलाडीसँग बताए ।

‘हामीलाई राखेपले नम्बर नै प्रिन्ट नभएको जर्सी दिएको थियो । अन्तिम समयमा पाएको जर्सीमा नम्बर पनि प्रिन्ट नभएकाले आफैँले हातले लेख्नुबाहेक हामीसँग् विकल्प भएन,’ व्यवस्थापकले भने, ‘पुरुष टिमको हकमा पनि त्यस्तै भयो । खेलाडी आफैँले हातले जर्सी नम्बर लेखेर खेल्नुपर्यो ।’

बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता, नेपाली खेलकुदको कुम्भमेला भनेर राखेपले घमण्ड गरिरहँदा गण्डकीमा जारी नवौं राष्ट्रिय खेलकुदलाई ‘इतिहासकै फ्लप’ खेलकुद महोत्सव भनेर चर्चा हुन थालेको छ । खेलकुदको मानमर्यादा अनुसार नभई ‘गरिस् ? गरेँ’ शैलीमा भइरहेको यो मेलामा आयोजकको लापर्बाही छरपस्ट छन् ।

सोमबारदेखि नै सुरु भएको फेन्सिङ पनि अस्तव्यस्तरुपमा चलिरहेको छ । ब्याडमिन्टन हलमा फेन्सिङको भन्दा ठूलो ब्याडमिन्टनको ब्यानरले आयोजकलाई गिज्याइरहेको छ । त्यसमा पनि पाँच मिनेटमा तीन पटक बिजुलीमा समस्या भइरहँदा झनै समस्या भएको फेन्सिङका एक पदाधिकारीले बताए ।

घरेलु खेलकुदको सबैभन्दा ठूलो उत्सव भनिएको नवौं राष्ट्रिय खेलकुदको क्रिकेट आर्टिफिसियल म्याट ओछ्याएर भइरहेको छ ।