पारा राष्ट्रिय खेलकुद

रामचन्द्र र गोपाल पहिलो

काठमाडौं । रामचन्द्र काफ्ले र गोपाल मोक्तान पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा साइक्लिङ प्रतियोगितामा शनिबार पहिलो भएका छन् । रामचन्द्र शारीरिक अपाङ्गको एम्पुटी तथा गोपाल कुष्ट रोग प्रभाविततर्फ पहिलो भएका  हुन् ।

राष्ट्रिय पारा साइक्लिङ संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित प्रतियोगिताको शारीरिक अपाङ्गको एम्पुटीतर्फ सुजन भण्डारी दोश्रो तथा कृष्ण गुरुङ तेश्रो भए । कुष्ट रोग प्रभावितमा बाबुलाल शरणले रजत तथा विनोद गैरेले कांस्य पदक जिते ।

विजेतालाई नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, राष्ट्रिय पारा साइक्लिङ संघका अध्यक्ष प्रकाश चिलवाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मण्डिखाटारमा भएको एकदिने प्रतियोगितामा १६ प्रतिस्पर्धी सहभागी थिए ।

व्हीलचेयरमा डिगमलाई स्वर्णः

पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा टेबलटेनिस प्रतियोगिताको व्हीलचेयरतर्फ पुरुष सिंगल्समा डिगमसिंह चेम्जोङ शनिबार पहिलो भएका छन् । रमेश खत्री दोश्रो तथा भरतबहादुर कार्की र अर्पण सुनुवार राई तेश्रो भए ।

सोही विधाको महिला सिंगल्समा लली तामाङले स्वर्ण, रजनी राईले रजत तथा निर्मला भण्डारी र संगीता माझीले कांस्य जिते । राष्ट्रिय पारा टेबलटेनिस संघको व्यवस्थापनमा जोरपाटीमा भएको प्रतियोगिताको पुरुष सिंगल्स स्ट्यान्डिङमा विवेक राई पहिलो, स्वीकृत न्यौपाने दोश्रो तथा अजय विक र दीपक नकल तेश्रो बने । उक्त स्पर्धाको महिलामा अस्मिता बूढा, पूजा सोती तथा आशाा हमाल र मेणुका गौतमले क्रमशः शीर्ष तीन स्थान हात पारे ।

विजेतालाई राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत सारङगिन निरौलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।