भ्यालेन्टाइन डे विशेष

‘भ्यालेन्टाइन डे’मा गोप्य योजना

काठमाडौं । मायामा एउटा चर्चित भनाइ छ, एकजना आगो भए अर्काे पानी हुनुपर्छ । नत्र प्रेम सम्बन्ध लामो समय चल्दैन ।

त्यही भनाइको प्रमाण हो, राजु घिसिङ र मोनालिसा खम्बुबीचको सम्बन्ध ।

खोटाङकी मोनालिसा राष्ट्रिय बुद्धिचाल संघकी सदस्य तथा कार्यकारी बोर्ड सदस्य हुन् भने धरानका राजु कान्तिपुर दैनिकका पत्रकार हुन् ।

काठमाडौंको मखनमा २०६५ सालमा भएको नेपाल-भारत मैत्री चेस प्रतियोगितामा पहिलो पटक राजु र मोनालिसाबीच भेट भएको थियो ।

त्यतिबेला मोनालिसा राष्ट्रिय च्याम्पियन थिइन् । राजु उक्त प्रतियोगितामा रिपोर्टिङका लागि गएका थिए ।

प्रतियोगिता सकिएपछि राजुलगायत धेरै पत्रकारले मोनालिसाको अन्तर्वार्ता लिए ।

 

सामान्यतः समाचारका लागि एउटा पत्रकारले कुनै पनि स्टार खेलाडीको विषयमा बढीभन्दा बढी जानकारी राख्न खोज्छ । राजुले पनि मोनालिसा र उनको परिवारबारेमा सबैखाले जानकारी बटुले । समाचार लेख्नका लागि मात्र नभई ‘अरू पनि केही’का लागि ।

मोनालिसा त्यतिबेला १६ वर्षकी थिइन् । मखनको त्यो प्रतियोगितापछि पनि अरू विभिन्न प्रतियोगितामा राजु र मोनालिसाबीच भेट हुने क्रमले निरन्तरता पायो । थप बोलचाल हुन थाल्यो । एक किसिमको मित्रता विकसित भयो । तर, औपचारिक प्रेमी–प्रेमिकाका रूपमा भने उनीहरूको सम्बन्ध विकसित भएको डेढ वर्षमात्र भएको छ ।

२०७६ सालको चैतमा कोभिड १९ महामारीका कारण लकडाउन भएपछि उनीहरूको प्रेमको जरो पलाउन थाल्यो । 

नेपाल बुद्धिचाल संघले २०७७ जेठ १२ गते खेलाडी तथा प्रशिक्षकका लागि अनलाइन प्रशिक्षण दिने र अनलाइन प्रतियोगिता गराउने कार्यक्रम बनायो । त्यसकै जानकारी दिनका लागि मोनालिसाले अरू मिडियाकर्मीलगायत राजुसँग पनि कुरा गरिन् ।

‘कोरोनाका कारण सबै काम ठप्प थियो । सोच्दै नसोचेको कुरा भएको थियो । लकडाउनको समयमा कुनै खेलहरू भएका थिएनन् । तर हामीले अनलाइन इभेन्ट गराएका थियौं,’ मोनालिसा हाँस्दै भन्छिन्, ‘इभेन्ट आयोजना गर्नेदेखि लिएर मिडियासँग पु¥याउने कामको जिम्मा मलाई दिइएको थियो । त्यहींदेखि नै हाम्रो सम्बन्ध सुरु भयो ।’

बुद्धिचाल संघले बिहान ७ बजे सामाजिक सञ्जाल ‘जुम’मा प्रशिक्षणसत्र राखेको थियो । राजुले आफू बिहान ढिलो उठ्ने भएकाले प्रत्येक दिन बिहान फोन गरेर उठाउन मोनालिसालाई अनुरोध गरे । मोनालिसाले सहर्ष त्यो अनुरोध स्वीकार्दा दुईबीच दैनिक कुराकानी हुन थाल्यो ।

महामारीका कारण कामको खास चाप थिएन । त्यसैले प्रत्येक बिहान फोनबाट निद्राबाट ब्युँझाउने उद्देश्य पूरा भएपछि पनि अरू अनौपचारिक वार्तालाप हुन थाल्यो । तथापि सुरुआती दिनमा कुराकानी भने प्रतियोगिता, बुद्धिचालका गतिविधिलगायत खेलकुदकै विषयमा केन्द्रित हुन्थे ।

त्योभन्दा बाहेक राजुले जाने बुझेका कुरा मोनालिसालाई भन्ने गर्थे । उनले महिला सशक्तीकरणका बारेमा सम्झाउने, त्यस्तै कुराका बारेमा फेसबुकमा लिंक पठाउने गर्थे । ‘त्यतिबेलासम्म पनि हामीलाई सम्बन्ध यसरी अगाडि बढ्ला भन्ने लागेको थिएन,’ मोनालिसा सुनाउँछिन् ।

उनलाई राजुले भन्ने गरेको कुरा तथा पठाउने गरेका लिंकहरूले धेरै सहयोग मिल्थ्यो । राजुले गरेको सहयोग र काम देखेर मोनालिसालाई उनी राम्रो व्यक्ति लाग्न थालिसकेको थियो । कुराकानी बढ्दै गएपछि एकदिन राजुले मोनालिसालाई भेट्ने प्रस्ताव राखे ।

‘म बानेश्वरमा बस्थें, राजु तीनकुने । म तिम्रै घरको बाटो हुँदै दिनैपिच्छे अफिस गइरहेको हुन्छु भेटेरै गफ गरौं भने । अलिकति अप्ठ्यारो त लागेको थियो,’ मोनालिसा सम्झिन्छिन् ।

शुक्रबार दशरथ रंगशाला नजिकै एउटा रेष्टुराँमा खेलाडीसँगको कुराकानी चलिरहँदा राजु र मोनालिसाबीच ठट्यौली चल्न थाल्यो । 
राजुले मोनालिसालाई जिस्क्याए, ‘मख्ख परेर आएको हो कि ।’ 

फेरि मोनालिसा भन्छिन्, ‘हैन नि । यो केटी भाउ खाने रहेछ । पछि उसको काम किन गर्नु भन्यो भने, सोच्यो भने के गर्नु भनेर आएको नि ।’ 
त्यसपछि राजुको बेजोड हाँसो निस्कन्छ ।

राजुले सुरुमा भेटौंभन्दा मोनालिसाले केही काम थियो र भनेर सोधेकी पनि थिइन् । तर राजुले भेटेर चिया खाऔं अनि कुराकानी गरौं भनेका थिए । 
महामारीका कारण विश्वभर खेलकुदका गतिविधि पूर्ण रूपमा ठप्प थिए । पत्रकारले समाचार ‘कुक’ गर्नुपर्ने बेला थियो । त्यसैले राजुले आफूलाई मनपरेकी खेलकर्मी मोनालिसाको प्रोफाइल लेख्ने योजनाअनुसार उनीसँग भेट्न खोजेका थिए ।

तर भेट्दासम्म उनलाई मोनालिसासँग प्रेमको रथ अगाडि बढ्ने विश्वास जागिसकेको थियो । त्यसैले पछि सम्बन्ध सार्वजनिक भएपछि अरूले नराम्रो सोच्लान्, पत्रकारिताको दुरुपयोग गरेको अर्थ लाग्ला भनेर प्रोफाइल लेख्ने योजना थाँती राखेको राजु बताउँछन् ।

चिया खाने बहानामा भेट भए पनि कडा लकडाउनका कारण पूरा बजार बन्द थियो । चिया खाने ठाउँ खोज्नकै लागि उनीहरूले पूरा चक्रपथ चक्कर लगाए, तर कुनै पसल भेटेनन् ।

मोनालिसाको त्यहीं दिनमा अनलाइन बैठक थियो । त्यसकारण मोनालिसा घर जाने र राजुले चिया बनाएर ल्याउने कुरा भयो ।

सोहीअनुसार दुवै घर फर्किए । मोनालिसा बैठक सकेर घरबाट बाहिर निस्किइन् । राजु एक थर्मस चिया लिएर मोनालिसाको टोलमा पुगे ।

लकडाउनले पूरा काठमाडौं सुनसान थियो, बाटोकै छेउमा बसेर दुवै चिया खान थाले । राजुले त्यतिबेला तुलसी चिया बनाएर ल्याएका थिए । मोनालिसा पनि तुलसी चिया नै खाने गर्थिन् । त्यहाँ उनीहरूको चियाको ‘टेस्ट’ मिल्न गएको थियो । ‘चियाबाट सुरु भएको टेस्ट जिन्दगीमै मिल्न पुग्यो,’ मोनालिसा ठट्टा गर्छिन् ।

त्यसरी रोडमा बसेर चिया खाँदा मोनालिसालाई अप्ठ्यारो र नराम्रो लागेको थियो । ‘लकडाउनको समयमा बाटोमै बसेर चिया खान तम्तयार हुँदा केटाले प्रेमको भर्याङ हालेको सोच्न सक्ने खतरा थियो । त्यसैले मैले सुरुमै राजुलाई मित्रताभन्दा माथि नसोच्न भनेको थिएँ,’ उनले सुनाइन् ।

राजुले पनि मनको कुरा लुकाउँदै आफूले ‘त्यस्तो केही नसोचेको’ विश्वास दिलाए । उनले दुवैको एउटै क्षेत्र भएकाले चियाको लागि मात्र भेट्न बोलाएको भने । भन्नलाई जे भने पनि मोनालिसाको प्रस्ट बोल्ने बानी राजुलाई मन पर्न थाल्यो । विस्तारै मोनालिसा पनि ।

आफूले प्रस्ट कुरा गर्दा पनि राजुले त्यसलाई सहजतासाथ लिएकोमा मोनालिसामाथि उनको प्रभाव पर्यो ।

सधैं फोनमा बोलचाल हुने, कहिलेकाहीं भेट हुने भएपछि मोनालिसाले राजुसँग सहज महसुस गर्दै गइन् । कुराकानीमा दुवै अझ खुल्न थाले ।

चियामा मात्र होइन अरू धेरै कुरामा पनि उनीहरूको ‘टेस्ट’ मिल्न थाल्यो । मोनालिसा र राजु दुवै साकाहारी थिए । सम्बन्ध घनिष्ठ हुनुमा यो अर्को बलियो कारण बन्यो ।

धेरै नबोल्ने, सानो स्वरमा बोल्ने व्यक्ति थिए, राजु । मोनालिसा अलि बोल्ने स्वभावकी थिइन् ।

मोनालिसालाई राजुको एक–एक कुरा मनपर्दै गएको थियो । ‘तर प्रेम नै भन्ने चाहिँ थिएन । सायद मन परे पनि मनमै थियो होला,’ मोनालिसाले त्यो बेलाको सम्बन्ध अर्थ्याउने प्रयास गरिन् ।

त्यसबेला कोभिड १९ को त्रास धेरै थियो । संक्रमितलाई अरूले गर्ने व्यवहार सहज थिएन । मोनालिसाका भाइलाई संक्रमण भयो । त्यो समयमा मोनालिसाको आमाबुबा काठमाडौंमा थिएनन् । घरमा मोनालिसा, उनकी बहिनी र भाइमात्र थिए । त्यस्तो समयमा राजुले मोनालिसाको घरमा गएर सहयोगी भूमिका निर्वाह गरे ।

राजुले मोनालिसाका भाइबहिनीको सहानुभूति जिते । अनि त्यही सहयोगी व्यवहारबाट मोनालिसाको माया पनि जित्न राजु सफल भए । एकअर्कालाई ‘आई लभ यू’ नभने पनि दुवैले प्रेम बसेको जानकारी पाइहाले ।

एकदिन राजुले मोनालिसालाई परिवारसँग भेटाउने चाहना राखेपछि भने मोनालिसाले प्रस्टैसँग बुझिन्, ‘यो केटाले जीवनभरको साथ खोजेको रहेछ ।’ आमाको अनुमति लिएर उनले राजुको परिवारसँग भेटिन् ।

पारिवारिक सहमतिमै गएको भदौमा राजु र मोनालिसाबीच टीकाटालो भइसकेको छ । तर व्यावसायिक करियर अघि बढाउने सल्लाहमै अर्को वर्ष दुईपछि विवाह हुने तय भइसक्यो । त्यतिन्जेल के त ?

‘दुवै जना प्रायः आफ्नै काममा व्यस्त हुन्छौं । तर सम्बन्धलाई बलियो बनाउन फोन नभए पनि म्यासेज गर्ने, महिनाको २५ गते बाहिर खान जाने, सातामा एकपटक ‘वाक’मा जानेजस्ता सहमति गरेका छौं,’ राजुले सुनाए, ‘सोमबार भ्यालेन्टाइन डे परेको छ । हाम्रो पनि योजना छ तर गोप्य छ ।’