भ्यालेन्टाइन डे विशेष

क्रिकेटर र पत्रकारको यस्तो थियो प्रेम

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर विनोद भण्डारी र ग्यालेक्सी फोरकेकी समाचारवाचिका सोनिका अर्याल तनहुँको आबँुखैरेनीमा गत असोज २९ गते वैवाहिक बन्धनमा बाँधिएका थिए ।

उनीहरूको पहिलो भेट क्रिकेटको रिपोर्टिङ गर्नेक्रममा भएको थियो । २०७२ सालमा कीर्तिपुरमा रुस्लान कप भएको थियो । प्रतियोगितामा पाँच प्रदेश र तीन विभागीय टोली सहभागी थिए ।

विनोद आर्मीका कप्तान थिए । खेलकुद पत्रकार सोनिकाले विनोदलाई राम्ररी चिन्थिन् । मायामा नपरे पनि विनोद सोनिकाको मनपर्ने खेलाडीमा पर्थे । तर विनोदले भने उनलाई चिनेका थिएनन् ।

पत्रकारितामा भर्खरै लागेकी सोनिकाले त्यो प्रतियोगितामा पहिलो पटक कमेन्ट्री गरेकी थिइन् । राष्ट्रिय टेलिभिजनको लाइभमा सोनिका र विनोदबीच त्यहींं बेला नै पहिलो पटक बोलचाल भएको थियो ।

त्यसअघि मैदान रिपोर्टिङ जाने क्रममा सोनिकाको विनोदसँग धेरै पटक भेट भइसकेको थियो तर बोलचाल भएको थिएन ।

पत्रकार र खेलाडीको नाताले चिनेकी सोनिका कुनै दिन जीवनकै सारथि हुन्छिन् भन्नेमा विनोद अनभिज्ञ थिए ।

क्रिकेट समर्थकको रूपमा रहेकी सोनिकाको विनोद मनपर्ने खेलाडीमा पर्थे । कारण विनोदको खेल्ने शैली, उसको अनुशासन र टोलीलाई नेतृत्व गर्ने शैलीले सोनिका प्रभावित थिइन् ।

उक्त प्रतियोगिताको फाइनलमा आर्मीले हार बेहोर्यो । रिपोर्टिङका लागि मैदानमा पुगेकी सोनिकाले हार्ने टोलीको कप्तानसँग कुराकानी गर्नुपर्ने थियो । उनले त्यो समयमा दोस्रो पटक विनोदसँग बोलेकी थिइन् ।

प्रतियोगिता सकिएको दुई–तीन दिनमा विनोद घर (महेन्द्रनगर) फर्किए । त्यसपछि सोनिकालाई फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए । सोमपाल कामी, सागर पुनजस्ता क्रिकेटका धेरै खेलाडीसँग फेसबुकमा साथी भएकाले सोनिकाले विनादको रिक्वेस्ट सहजै ‘एसेप्ट’ गरिन् ।

‘एसेप्ट’ गरेको भोलिपल्ट विनोदको तर्फबाट सोनिकालाई ‘हाई’ भनेर म्यासेज आयो । उनले पनि ‘हेलो’ भनेर जवाफ फर्काइन् । त्यसपछि विनोदले सोनिकालाई ‘हारेको मान्छेलाई परेशान गर्ने’ भन्ने म्यासेज गरेको सोनिकाको मनमा ताजै छ ।

त्यसरी नै उनीहरूको फेसबुकमा गफ सुरु हुन थाल्यो । तर सधैं एउटै गफ हुन्थ्यो । 
विनोद : हाई
सोनिका : हेलो 
विनोद : के छ ?
सोनिका : ठीक छ, तपाईंको ?
विनोद : मेरो पनि ठीक छ । खाना खायौं ?
सोनिका  : खाएँ, तपाईंले ?
विनोद : खाएँ । 
दैनिक यस्तै गफमा नै उनीहरूको वार्तालाप महिनौं तन्कियो । सोनिकालाई विनोद निकै ‘जेन्टल’ लाग्थ्यो ।

बोल्न थालेको एक महिनापछि विनोदले सोनिकालाई काठमाडौं आएको जानकारी गराए । सोनिका मध्य बानेश्वरमा रहेको हिमालय टेलिभिजनमा कार्यरत थिइन् । विनोदले कफीका लागि सोधे । सोनिका पहिलो पटक विनोदलाई भेट्न गइन् ।

सोनिकासँग कुनै साधन नभएकाले उनलाई लिन विनोद आफैं ६ बजे हिमालय टेलिभिजन पुगे । आफूलाई मनपर्ने क्रिकेट स्टारसँग भेट्ने कुराले सोनिकालाई निकै उत्साहित बनायो ।

साधारण पोसाकमा अफिसमा रहेकी सोनिकाले अग्ला विनोदलाई भेट्न जानुअघि टीसर्ट र हिल जुत्ता किनिन् । सायद सोनिकाको मनले जीवनभरको सहयात्रा कल्पिइसकेको थियो कि !

‘पहिलो पटक भेट्दा अति नै जेन्टल लाग्यो । क्रिकेटमा देख्ने गरेको यहीं मान्छे हो र जस्तो लाग्यो । कफी खायौं अनि निस्कियौं,’ सोनिकाले भनिन् ।

त्यसपछि पनि उनीहरूबीच दिनहुँ एकै किसिमको पट्यारलाग्दो गफ हुन्थ्यो ।

महेन्द्रनगरबाटै प्रतियोगिता खेल्न आउने गरेका विनोद त्यसको एक महिनापछि घर फर्किए । 

त्यस्तै निरस गफ र रोमाञ्चक कफी भेटको मिश्रणमै ५–६ महिना बित्यो । बिस्तारै सम्बन्ध दुःखसुख पोख्ने साथीमा परिणत भयो ।

त्यो समय विनोदको प्रदर्शन त्यति राम्रो थिएन । सोनिका पनि मिडियामा संघर्ष गर्दै थिइन् । सायद दुवैको उस्तै स्थिति र समयले होला निकटता बढ्दै गयो ।

जतिबेला विनोदको कुरा सुनिदिने सोनिका र सोनिकाको कुरा सुन्ने विनोद भइदिए । अनि एकअर्कालाई भेट्दा बाँकी दुनियाँ बिर्सन थाले ।

‘जिन्दगीमा एउटा यस्तो समय आउँछ । त्यतिबेला तिमीलाई एउटा साथी आवश्यक पर्छ नै । तिमीले गर्न सक्छौं भनेर हौसला दिने एउटा मान्छे चाहिँदोरहेछ । हामी त्यहीं भयौं,’ सोनिकाको अनुभव छ, ‘त्यसले नै हामीबीच निकटता बढायो ।’

उनीहरूले एकअर्कालाई कहिल्यै मायाको प्रस्ताव गरेनन् । एकअर्कालाई मन पराउने कुरा व्यवहारले नै बुझाए ।

६ वर्षअघि नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेदरल्यान्ड्स भ्रमणमा थियो । विनोद उता, सोनिका यता । त्यो समय उनीहरूका लागि प्रेममा रहेको महसुस गर्ने समय बन्यो ।

एकअर्कालाई सम्झिन थाले । हामी प्रेममा रहेछौ भन्ने महसुस गर्न थाले । एकअर्काको अनुपस्थिति खट्किन थाल्यो । भ्रमणबाट फर्किएपछि उनीहरूले खुल्लमखुला मायाको ‘इजहार’ गरे । त्योभन्दा अघिसम्म मायाको केही कुरा हुँदैनथ्यो ।

केही समयपछि सोनिकाले भारतको चेन्नईमा पढ्नका लागि छात्रवृत्ति पाइन् । भर्खरै मायामा रहेका उनीहरूलाई लामो समयसम्म टाढिनुपर्दा दुःख लागेको थियो । तर  राम्रो मौका पाउँदा जानका लागि भनेर विनोदले प्रोत्साहित गरे । सोनिका अध्ययनलाई चेन्नई गइन् ।

गएको ६ महिनापछि नेपाल आइन् । लामो दुरीको सम्बन्ध गाह्रो थियो, तर राम्रो चलेको थियो ।

‘६ महिनापछि हामी भेटेका थियौं । त्यो आजसम्मको नै सबैभन्दा रमाइलो भेट थियो,’ सोनिका लजाइन् ।

नेपाल आएको केही समयमै मिडिया र क्रिकेट क्षेत्रमा सोनिका र विनोदको सम्बन्धको हल्ला चल्न थाल्यो । सोनिका र विनोदको परिवारलाई यो सम्बन्धबारे कुनै समस्या थिएन । तर अरू कसैलाई समस्या भएछ ।

सोनिका आफ्नो बिदा सकिएपछि चेन्नई फर्किइन् । उनी उता भएको समयमा विनोदलाई कसैले नचाहिने कुरा सुनाइदिए ।

‘एक त हाम्रो लङ डिस्ट्यान्स रिलेसन । हामीलाई छुटाउनका लागि अरूले म डबल डेटमा छु । विनोदसँग टाइमपास गरिरहेको छ भनेर सुनाइदिएछ । उसको मन टुट्यो । मलाई पनि लाग्यो म टाढा भएर सम्बन्ध तोड्न खोजेको होला,’ सोनिका एक्कासि उदास भइन्, ‘हामीले एकअर्काको करियरमा एकदमै सपोर्ट गरेका थियौं । स–साना कुरा पनि सेयर हुन्थ्यो ।’

सोनिका नेपाल फर्किन तीन महिना बाँकी थियो । उनीहरूको दिनचर्या नै परिवर्तन भयो । फेसबुकमा एकअर्कालाई ब्लक नगरे पनि कुराकानी एक्कासि रोकियो । विनोदको अन्तिम म्यासेज थियो, ‘तिमीले मलाई धोका दिन्छौं भनेर विश्वास थिएन ।’ 

सोनिकाले ‘दिएको छैन’ भनेर एक-दुई पटक बताउने प्रयास गरिन् तर सकिनन् ।

त्यतिबेला दुवैजना ‘इगो हर्ट’ भएर तीन-चार महिनासम्म बोलेनन् । सोनिका नेपाल फर्किइन् । बिना कारण के हो नबुझी सोनिकालाई सम्बन्धको अन्त्य गर्न मन भएन । उनले भेटेर कुरा गर्न विनोदलाई बोलाइन् ।

त्यसपछि विनोदले फलानो मान्छेले यस्तो भनेको थियो भनेर बताए । तर, पछि विनोदले सोनिकाको कुरामा विश्वास गरे । सोनिकालाई भने सम्बन्ध पहिलाजस्तै सुचारु गर्न मन लागेन । एकचोटि अरूको कुरा सुनेर ब्रेकअप गर्ने मान्छेले जुनसुकै बेलामा छोड्न सक्छ भन्ने कुरा उनको मनमा गाडियो ।

सोनिकाले विनोदसँगको सम्बन्धमा पूर्णविराम लगाउने सोच बनाइन् । विनोदले आफूसँग केही नभने पनि अरूसँग चाहिँ सोनिकासँग नै बिहे गर्छु भन्ने गरेको उनले थाहा पाएकी थिइन् ।

दुईबीच बोलचाल थिएन । त्यतिबेला कीर्तिपुरमा प्रधानमन्त्री कप चलिरहेको थियो । सोनिका पनि हेर्न गएकी थिइन् । त्यतिबेला विनोदको उत्कृष्ट खेलबाट प्रभावित भएर सोनिकाले ‘तिमीले राम्रो खेल्यौं । म धेरै खुसी छु’ भनेर म्यासेज गरिन् । विनोदले पनि ‘धन्यवाद, नेपाल फर्किएछौं’ भनेर म्यासेज पठाए ।

त्यसको केही दिनपछि २०१८ को जुलाईमा सोनिकाको सुन्धारामा स्कुटर दुर्घटना भयो । उनलाई तत्काल राष्ट्रिय ट्रमा सेन्टर लगियो ।

विनोद त्यतिबेला घरेलु प्रतियोगिताका लागि त्रिभुवन आर्मी क्लबको क्याम्पमा थिए । दुर्घटना भएपछि सोनिकाको दिमागमा विनोदको नै झ-झल्को आएको थियो । उनले विनोदलाई नै सम्झिइन् । त्यतिबेला बहिनी र ऊ मात्र थिए । त्यसपछि सोनिकाले विनोदलाई दुर्घटनामा परेको बताइन् । त्यसको ५ मिनेटभित्रमा विनोद ट्रमा सेन्टर पुगे ।

विनोदलाई त्यहाँ देखेपछि सोनिकाले आँसु रोक्न सकिनन् र ठूलो आवाजमा रून थालिन् ।

‘उसलाई त्यहाँ देख्नेबित्तिकै क्वाँ, क्वाँ रोएँ । बहिनीको अगाडि रून सकेको थिइनँ । तर उसको अगाडि धेरै रोएँ । धेरै दुखिरहेको थियो । मुख सुन्निएको थियो,’ सोनिकाले सुनाइन् ।

एकअर्कासँग रिस उठे पनि बोलचाल बन्द भए पनि माया कम नभएको प्रमाण थियो त्यो । तीन चार महिनापछि भेटेर कुरा गर्ने तय गरे । सात महिनासम्म सोनिका र विनोदले एकअर्कालाई धेरै ‘मिस’ गरे । एकअर्काको अनुपस्थिति धेरै खड्कियो ।

पछि सोनिका र विनोदको सम्बन्ध फेरि सुरु भयो । सात महिना टाढा रहँदा उनीहरूको सम्बन्ध झन बलियो बनेको रहेछ । सोनिका र विनोद प्रेममा हुँदा केही त्यस्ता व्यक्तिहरु पनि थिए जसले उनीहरूको राम्रो र कोहीले नराम्रो पनि चाहन्थे ।

एउटी पत्रकार भएर खेलाडीसँग सम्बन्धमा छौ भनेर अरूले कुरा सुनाउँदा सोनिकालाई निकै नराम्रो लाग्थ्यो । सोच्थिन् ‘के मैले गलत गरेको छु र ?’ तर विनोदको कुराले उनलाई एक किसिमको ऊर्जा दिन्थ्यो ।

विनोदले भन्ने गर्थे, ‘तिमी मलाई विश्वास गर । तिमीलाई जेसुकै परे पनि म छु । तिमी मसँग छौ त्यो नै मेरा लागि पर्याप्त छ ।’

त्यस दिनदेखि उनीहरूको सम्बन्ध बलियो बन्दै गयो । जसले जे कुरा सुनाए पनि एकअर्काको मात्र विश्वास गर्ने भए ।

‘मायामा विश्वास नै ठूलो कुरा रहेछ । यदि उसले मलाई र मैले उसलाई विश्वास गरें भने दुनियाँको मतलब नहुने रहेछ,’ सोनिका विश्वास सुनाउँछिन् ।

सोनिकाको परिवारलाई विनोदबारेमा सबै थाहा थियो । त्यस्तै विनोदले पनि आफ्नो परिवारलाई सोनिका र सम्बन्धबारेमा बताए ।

त्यो बेला पोखरामा पोखरा प्रिमियर लिग चलेको थियो । त्यसको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्ने भयो । सोनिका पोखरा पुगिन् । विनोद पनि आफ्नो टोलीसँग पोखरा लागे ।

त्यहीं खेल हेर्न तथा सोनिकालाई परिवारसँग भेटाउन विनोदले आमाबुबालाई पोखरा बोलाए । दिनभरको कमेन्ट्री र रिपोर्टिङबाट थाकेर सोनिका होटल पुगिन् । उनी आएर बसेकी मात्र थिइन्, विनोद उनलाई लिन होटलमा पुगे ।

पहिलो पटक विनोदको परिवारसँग भेट्न लागेकी सोनिकालाई कस्तो भएर जाउँ, के लगाएर जाउँ भन्ने कुराले नै सतायो । हुन त केटी मान्छे, त्यसमाथि नक्कली स्वभावले सोनिका पहिरनबारे अनिर्णित थिइन् ।

के गरौं? भनेर अकमक्क परेकी सोनिकालाई विनोदले ‘तिमी जस्तो छौं त्यस्तै भएर हिँड’ भनेर सम्झाए । सोनिका पनि सदाझैं आफ्नो पहिरनमा नै भेट्न गइन् ।

धेरै कार्यक्रमहरू सञ्चालन गरेकी, कमेन्ट्री गरेकी, निकै अनुभवी पत्रकार भए पनि सोनिकालाई विनोदको परिवारको अगाडि बोल्न भने निकै गाह्रो प¥यो । एक किसिमको डर लागिरह्यो । केही बोल्न सकिनन् ।

देशकै ठुल्ठुला मानिसहरूको जमातमा निर्धक्कसँग हाँसी हाँसी बोल्नसक्ने सोनिकालाई त्यो बेला भने पहिलो पटक ‘लाज’ लाग्यो । तर त्यहाँ गएपछि विनोदको परिवारले उनलाई निकै सहजता महसुस गराए ।

बिहेको कुरा, के कस्तो छ जस्ता सामान्य कुराकानी गर्दै परिवारसँगको पहिलो भेट सकियो । पोखरा प्रिमियर लिग पनि सकियो । सबै काठमाडौं फर्किए ।

त्यसपछि विनोद र उसको परिवारलाई आफ्नो परिवारसँग भेटाउन सोनिकाले गोरखा नै लिएर गइन् । दुवै परिवार पहिलो पटक एकसाथ भेटे । सोनिका र विनोदको सम्बन्ध दुवै परिवारलाई मान्य भयो ।

भेटमा दुवै परिवारले ५ वर्षदेखिको प्रेममा रहेका सोनिका र विनोदको २०७७ सालमा नै विवाह गर्ने योजना बनाएका थिए । तर कोरोना महामारी कारण तथा सोनिकाका दिदीबहिनी विदेशबाट आउन मिलेन । त्यसैले उनीहरूले २०७८ मा गर्ने तय गरे ।

२०७८ मा संक्रमण कम हुँदै गयो । असोज ६ गते टिकोटालो गर्ने योजना बन्यो । आइसिसी क्रिकेट विश्वकप लिग २ त्रिदेशीय शृंखला खेल्न नेपाली टोली ओमानमा थियो । विनोद देशमा नभएकाले टीकाटालोको सबै तयारी सोनिका एक्लैले गर्नुपर्यो । विनोद प्रतियोगिता सकेर ओमानबाट असोज ५ गते बिहान नेपाल आइपुगे । असोज ६ गते दुवै परिवार र सीमित साथीभाइ साक्षी राखेर विजया दशमीको दिन विवाह गर्ने निर्णयसहित टीकाटालो सम्पन्न भयो ।

बिहे गर्न उत्साहित सोनिका त्यसबेला एक मनले बिहेको लागि तयार छु त ? भन्ने सोच्थिन् भने अर्काे मनले ‘समय नै यहीं हो, खुसी छु’ भन्ने सोच्थ्यो ।

बिहेको दिन नजिकिँदै थियो, तर विनोद एभरेस्ट प्रिमियर लिगमा व्यस्त थिए । अब बिहेको सारा तयारीदेखि लिएर बेहुलाको कपडाको अर्डर दिनेसम्मको काम सोनिकाको नै भयो । सोनिका कपडा सिलाउने मान्छेलाई लिएर विनोद बस्ने होटलमा नाप लिनसमेत पुगिन् ।

गोरखादेखि धेरै टाढा सुदूरपश्चिमको महेन्द्रनगरमा बिहे गरेर जाने, छुट्टै परिवेश, छुट्टै भाषा त्यस्तो ठाउँमा उनले जीवन बिताउनुपर्ने थियो । त्यसकारणले पनि बिहे हुने दिन नजिकिँदै जाँदा उनले धेरै प्रश्न मनमा खेल्न थाले ।

बिहेको दिन असोज २९ गते पनि आयो । आँबुखैरेनीको पार्टी प्यालेसमा सीमित साथी र परिवारको उपस्थितिमा हिन्दु परम्पराअनुसार प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे ।

‘हरेक केटी विवाहका दिन रुन्छन् नै । तर त्यस दिन रून्न भनेर आफूलाई सम्हालेर बसेकी थिएँ । तर दिदीको आँसु देख्दा मन थाम्न सकिनँ र रोएँ । मलाई अन्माएर गाडीमा बसाए, आबुँ खैरेनी कटेपछि गाडी जति अघि बढ्छ म उति नै रुन थालें । त्यो गाडीमा विनोदका बुबा, अंकल, विनोद, म र मेरी साथी पूजा श्रेष्ठ थियौं,’ सोनिकाले बिहेको दिन सम्झिइन् ।

सोनिकालाई कसैले सम्हाल्न सकिरहेको थिएन । गाडीमा गीत बजिरहेको थियो । उनी रोइरहेकी थिइन् । सोनिका रोएको देखे पनि बुबा, अंकलको अगाडि केही भन्न विनोद लजाए । तर फोनमा डाटा खोलेर ‘जो तुम ना हो’ भन्ने हिन्दी गीत बजाइदिए ।

त्यो गीत सुनेर उनीसँगै महेन्द्रनगर गएकी पूजाले तिम्रो लागि विनोदले गीत बजाइदिएका छन्, अब नरोउ भनिन् । सोनिकालाई त्यो गीत सुनेर विनोदले तिम्रा लागि म छु नरोउ भनेको जस्तो महसुस भयो र रुन बन्द गरिन् ।

रातभरको यात्रापछि दुलही लिएर गएको जन्ती सोनिका बिहान ७ बजे महेन्द्रनगर पुग्यो । त्यहाँ पुग्दा सबै वातावरण, माहोल छुट्टै थियो । सोनिकालाई अर्कै दुनियाँबाट आइपुगे जस्तो लाग्यो । तर विनोदले उनलाई एक्लै छोडेनन् । नयाँ परिवेशमा घुलमिल नभएसम्म साथ दिइरहे ।

विवाहपछि पहिलो पटक प्रेमीको कोठामा पुग्दा विनोदले भनेको एउटा कुरा सोनिकाको मनमा मीठोसँग गाढिएको छ ।

‘गर्लफ्रेन्ड हुँदा जति माया भए पनि श्रीमती भनेको श्रीमती नै रहेछ । गर्लफ्रेन्डलाई जतिसुकै माया गरे पनि श्रीमतीलाई गर्ने जस्तो माया नहुने रहेछ । तिमीलाई मैले हिजो हेर्ने नजर र आज हेर्ने नजर धेरै फरक छ । उसले पहिलो दिनमा नै यस्तो भनेको थियो,’ सोनिका भन्छिन्, ‘उसले यति धेरै माया गर्छ कि उसको अगाडि म जहिल्यै पुलपुलेको बच्चाजस्तो हुन्छु ।’

सोनिका र विनोदको बिहे भएको चार महिना बितिसकेको छ । बिहेपछि उनीहरूबीच एकचोचि पनि झगडा नभएको सोनिका बताउँछिन् । सोनिका कुनै बेला रिसाउँदा विनोद चुप लागेर बस्छन् । केही समयपछि आएर तपाईंको रिस म¥यो कि छैन ? कि एकछिन पछि आउँ भन्दै जिस्क्याउँछन् ।

क्रिकेटर र पत्रकारको मायालु जोडीका लागि यसपालिको प्रणय दिवस रोमाञ्चक हुने छैन । विवाहको गन्तव्य पाइसकेको यो जोडीले सोमबारको भ्यालेन्टाइन डेका लागि खास कुनै योजना बनाएको छैन । विनोद आर्मीको क्याम्पमा छन् भने सोनिका पनि ग्यालेक्सी फोरकेको काममा व्यस्त छिन् ।

‘जीवनभर नै भ्यालेन्टाइन डे हो नि । सधैं भेट हुन्छ । जिन्दगीका हरेक सुखदुःखका क्षण मनाउने हो,’ पुल्पुलिएकी सोनिका अचेल बुझ्ने भइसकेकी छन् ।