भ्यालेन्टाइन डे विशेष

एसियाडले जुराएको सम्बन्ध

काठमाडौं । दक्षिण कोरियामा सन् २०१४ मा भएको इन्चोन एसियाली खेलकुद (१७औं संस्करण) ले फुटबल खेलाडी असिमजंग कार्की र पौडीवाज सोनिरा विष्टको भेट जुराएको थियो ।

नेपाली खेलकुदका दुई फरक विधाबाट देशलाई प्रतिनिधित्व गर्ने स्तरसम्म पुगिसक्दा पनि असिम र सोनिराबीच चिनजान थिएन । चिनजान त के दुवैले एकअर्काको नामसमेत सुनेका थिएनन् । तर इन्चोनको त्यो भेटको प्रभाव यस्तो रह्यो कि दुई एकअर्काको पर्यायका रूपमा परिणत भए ।

इन्चोनबाटै सुरु एकअर्काप्रतिको आकर्षणले प्रेम हुँदै विवाहको गन्तव्य प्राप्त गर्न दुई वर्ष पनि लागेन । २०७३ साल मंसिरमा काठमाडौंमा दुईको भव्य रूपमा विवाह भयो ।

कोरियाको खेलाडी भिलेजमा फुटबल र पौडीका खेलाडीलाई एउटै भवनमा राखिएको थियो । जसका कारण खाना खाने समयमा यताउता गर्ने क्रममा असिम र सोनिराबीच भेट भइरहन्थ्यो । पहिलो पटक उनीहरूको चिनजान खाना खानेक्रममा भयो ।

विस्तारै चिनजान बोलचालमा परिणत हुँदै गयो । खाना खाने ठाउँ टाढा थियो । हिँडेर जानुपर्थ्यो । त्यो समयमा कहिलेकाहीं सँगै जाने गर्थे ।

 

भर्खर प्रेम टुसाउँदाको समय सम्झँदै असिम भन्छन्, ‘पहिलो भेटमै मलाई उनी मनपरेको थियो । त्यो एकखालको आकर्षण थियो । त्यहाँ धेरै खेलाडी थिए, तर उनीसँग मात्र आत्मीयता बढ्यो । त्यतिबेला माथिबाट नै लेखेर आएको होला भन्ने लाग्थ्यो ।’

त्यतिबेला नै माया बसिसकेको थियो । तर असिमले प्रस्ताव गर्न भ्याइसकेका थिएनन् । कोरियामा रहँदासम्म दुवैको ध्यान खेलमै केन्द्रित थियो ।

एसियाली खेलकुदमा फुटबल र पौडीले कुनै सफलता हात पार्न सकेन । दुवै खेलबाट सफलता आस गरिएको पनि थिएन । तर अर्को असिम र सोनिराले भने अर्को आशा नगरेको मायाको उपहार त्यहींबाट प्राप्त गरे ।

दक्षिण कोरियाबाट फर्किएपछि बोलचाल कम हुँदै भयो । फेसबुकमा कुनै बेला हाइ हेल्लो हुन्थ्यो । त्यसबाहेक एक-दुई पटक साथीको नाताले भेटेका पनि थिए । त्योभन्दा सम्बन्ध अगाडि बढेन ।

२०७१ सालमा भारतको गुवाहाटी र सिलोङमा सागको १२औं संस्करण हुँदा चोटका कारण असिम टिममा परेनन् । जसले उनलाई मानसिक पीडा दियो । असिमले असीम पीडाका साथ घरमै बसेर टेलिभिजनमा हेरेको त्यो संस्करणमा नेपाली पुरुष फुटबल टोलीले स्वर्ण पदक जित्यो ।

सोनिराका कारण फुटबलपछि असिमको चासो पौडीमा थियो । १२औं साग खेलेको नेपाली पौडी टोलीमा सोनिरा पनि थिइन् । दक्षिण कोरियामा टुसाएको मायालाई औपचारिकता दिने सोचमा पुगिसकेका असिमलाई सोनिरासँग नजिकिने बहानाको खाँचो थियो । त्यसैले सोनिरा गुवाहाटीमा हुँदा अपडेट लिने बहानामा फेसबुक म्यासेन्जरमा बल्छी हालिरहन्थे । कुराकानी हुन थाल्यो । मित्रता बढ्दै गयो ।

आवरणमा मित्रता भए पनि असिम सोनिराको मायामा एकोहोरिसकेका थिए । त्यसैले धेरै समय नलिइकन सोनिरासँग एकैपटक बिहेको प्रस्ताब गर्ने आँट गरे । सोनिराले प्रस्ताव अस्वीकार गरिनन् । बरू निर्णयका लागि समय मागिन् । मतलब सोनिरा पनि सकारात्मक थिइन् ।

प्रतियोगिता सकियो सोनिरा नेपाल फर्किइन् । त्यसको केही समयपछि उनले असिमको प्रस्ताव स्वीकार गरिन् ।

‘सोनिराले एस भनेको दिन मेरो खुसीको सीमा नै थिएन । संसार जितेजस्तो लाग्यो । सोनिरा भएपछि बाँकी दुनियाँको मतलब नै नभएजस्तो भयो,’ असिम त्यो क्षण सुनाउँछन् ।

दुवै तर्फबाट प्रेमको औपचारिक स्वीकारोक्ति भइसकेपछि भेटघाट बढ्न थाल्यो । माया झन गाढा हुँदै गयो । एकअर्काको खेल हेर्न जाने र एकअर्कालाई प्रेरित गर्ने कुरा दिनचर्याजस्तै बन्न थाल्यो ।

२०७३ सालमा एएफसी प्रेसिडेन्ट्स कपको छनोट प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नका लागि थ्री स्टार क्लब तयारीमा थियो । असिम पनि चोटबाट फर्किएर मैदानमा पुनरागमन जनाउने तयारीमा थिए । तयारीकै क्रममा थ्री स्टारले दशरथ रंगशालामा सशस्त्र प्रहरी बलको एपिएफसँग अभ्यास खेल खेल्दै थियो ।

चोटबाट फर्किएपछि असिमको त्यो पहिलो खेल थियो । जुन खेल हेर्न सोनिरा पौडीको प्रशिक्षण सकेर रंगशाला पुगिन् । प्रेमिकाको उपस्थितिबाट हौसिएका असिमले थ्री स्टारका लागि दुई गोल गरे ।

त्यो खेलपछि असिमसहितको टोली मंगोलिया लाग्यो । मंगोलिया गए पनि उनीहरूको फोनमा धेरै कुरा हुन्थ्यो । सातामा दुई-तीन पटक भेट्ने गरेका असिम र सोनिरालाई त्यतिबेला एकअर्काको अभाव खट्किन थाल्यो ।

मंगोलियाबाट नेपाल फर्किएपछि असिमको घरमा बिहेको कुरा चल्न सुरु भयो । उनका बुबाले केटी खोज्ने कुरा गर्दा असिमले आफू कसैसँग प्रेम सम्बन्धमा रहेको बताए ।

परिवारले भेट्ने इच्छा गर्यो । असिमले यो सबै कुरा सोनिरालाई सुनाए । उनले पनि आफ्नो परिवारमा कुरा गरिन् । दुवै परिवारको सहमतिमा भेट्ने कुरा भयो । स–परिवार भेटेकै दिन तत्काल टीकाटालो र चाँडै बिहे गर्ने तय भयो ।

ढिला नगरी असिम र सोनिराले २०७३ मंसिर १६ गते प्रेमलाई बिहेमा परिणत गरे ।

असिम र सोनिरा परिवारसहित अहिले  फ्रान्समा छन् । उनीहरूको प्रेमको चिनोस्वरुप जन्मिएकी छोरी पनि साढे दुई वर्षकी भइसकिन् ।