काठमाडौं । इण्डियन प्रिमियर लिग(आइपिएल) २०२६ को पहिलो खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्स पराजित गरेको छ ।
सोमबार भएको आफ्नो पहिलो खेलमा चेन्नईलाई ८ विकेटले हराउँदै राजस्थानले सुखद सुरुवात गरेको हो । १२८ रनको सामान्य लक्ष्य राजस्थानले १२ दशमलब १ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । राजस्थानका लागि ओपनर वैभब सुर्यवंशीले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले उनले १७ बलमा ४ चौका र ५ छक्का प्रहार गरे ।
अर्का ओपनर यशस्वी जैसवाल ३६ बलमा ३८ तथा धुव्र जुरल १८ रनमा आउट हुँदा कप्तान रियान पराग १४ रनमा अविजित रहे । चेन्नईका लागि अन्शुल कम्बोजले २ विकेट लिए ।
त्यसअघि घरेलु मैदान गुवाहाटीमा खेलमा राजस्थानले टस जितेर बलिङ रोजेको खेलमा पहिले ब्याटिङ गरेको चेन्नई १९ दशमलब ४ ओभरमा १२७ रन बनाउँदै अलआउट भएको थियो ।
चेन्नईका लागि जेमी ओभरटर्न सर्वाधिक ४३ रनमा आउट भए । उनले ३६ बलको सामना गर्दै २ चौका र २ छक्का प्रहार गरे । कात्तिक शर्मा १८, सरफराज खान १७ रनमा आउट भए । चेन्नईले खराब सुरुवात गरेको थियो । पावर प्लेभित्र उसले कप्तान रितुराज गायकवाड र सञ्जु स्यामसनलाई समान ६ तथा माथ्यु शर्ट र आयुष मात्रेयलाई पनि सस्तैमा गुमाएको थियो ।
त्यसपछि पनि नियमित रुपमा विकेट गुमाउँदा चेन्नई ठूलो स्कोरसम्म पुग्न सकेन । राजस्थानका लागि जोफ्रा आर्चर, नान्द्र बर्गर र रविन्द्र जडेजाले समान २ तथा ब्रिजेश शर्मा, रवि बिष्नोई र सन्दिप शर्माले समान १ विकेट लिए ।
पहिलो खेलमा नै जित हात पारेको राजस्थान २ अंकका साथ शीर्ष स्थानमा रहँदा अंकबिहिन चेन्नई छैठौं स्थानमा छ ।
