काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक गुग्लिएल्मो ऐरेनाले लाओसविरुद्ध जित्नकै लागि मैदान उत्रिने बताएका छन् ।
एएफसी एसिया कप छनोटअन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा मंगलबार नेपालले लाओसको सामना गर्दैछ । खेलअघिको प्रिम्याच कन्फरेन्समा एरिनाले भने, ‘युवा र अनुभवी खेलाडीको सन्तुलनका साथ लाओस आएका छौं । जितबाहेक अन्य विकल्प सोचेका छैनौं ।’

पहिलोपटक नेपालको टचलाइन सम्हाल्न लागेका एरिनाले यसपाली पाँच नयाँ अनुहारलाई मौका दिएका छन् । यी खेलाडीले लाओसविरुद्ध मौका पाउन सक्ने एरिनाले संकेत देखाएका छन् । ‘मेरो लक्ष्य युवा खेलाडीलाई निखार्नु हो । केही युवा खेलाडीलाई टोलीमा समावेश गरेको छु । भोलिका लागि तयार छौं ।’
यसैगरी कप्तान किरण कुमार लिम्बूले पनि जित निकाल्नु नै प्रमुख उदेश्य हुने बताए । ‘मैदानमा उत्रिइसकेपछि जित निकाल्नु नै प्रमुख लक्ष्य हुन्छ । राम्रो तयारी भएको छ । हामी कोचको रणनितिअनुसार नै प्रर्दशन गर्ने छौं ।’

नेपाल र लाओसविरुद्धको स्थानिय समय अनुसार साँझ ७ बजे सुरु हुनेछ । प्रतियोगिताको समूह ‘एफ’ मा रहेका दुवै टोली एएफसी एसियन कपको दौडबाट बाहिरिसकेका छन् । दुवै टोलीले समान पाँच खेल खेल्दा तीन अंक जोडेका छन् ।
हालसम्म नेपाल र लाओसले ६ पटक एकअर्कासँग प्रतिस्पर्धा गरेका छन् । जसमा नेपालले चार र लाओसले १ खेल आफ्नो पक्षमा पार्दा एक खेल बराबरीमा सकिएको छ । एएफसी कप छनोट अन्तर्गत गत वर्ष भएको पछिल्लो भेटमा नेपाल २–१ ले पराजित भएको थियो ।
