काठमाडौं । अरनिको यादवको अलराउण्ड प्रदर्शनको सहयोगमा मधेश प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।
लगातार तेस्रो जित हासिल गर्नेक्रममा सोमबार सम्पन्न खेलमा मधेशले कर्णाली प्रदेश ५ विकेटले पराजित गर्यो । पहिलो खेलमा कोशी प्रदेशसँग अंक बाडेको मधेशले त्यसपछिका ३ खेलमा लगातार जित जित हात पारेको छ ।
कर्णालीले दिएको १३० रनको सामान्य लक्ष्य मधेशले २४ दशमलब ५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । मधेशको जितमा अरनिकोले अविजित रहेर ३२ रन बनाउँदा बलिङमा २ महत्वपुर्ण विकेट लिए । मधेशका लागि सर्वाधिक ३८ रन भने ओपनर निरज यादवले बनाएका थिए ।
अर्का ओपनर मयन यादव २४ तथा पवन सरार्फ १७ रनमा आउट भए , कर्णालीका लागि दिपेन्द्र रावतले ३ तथा कप्तान दिवान पुन र प्रकाश जैसीले समान १ विकेट लिए ।
त्यसअघि जनकपुरमा रहेको रामजानकी मैदानमा टस जितेर कर्णालीले पहिले ब्याटिङ गरेको कर्णाली ३१ दशमलब २ ओभरमा १२९ रनमा आउट भएको थियो ।
कर्णालीका लागि ओपनर रविन्द्र शाहीले सर्वाधिक ४० रन बनाए । अर्जुन घर्ती २४, दिनेश अधिकारी र विपिन रावल समान १८ तथा कप्तान दिवान पुन १२ रनमा आउट भए ।
मधेशका लागि आशिक बैथले ४ तथा अरनिको तथा विशाल पटेलले समान २ विकेट लिए । चौथो खेलमा पनि अपराजित रहेको मधेश ४ खेलमा ७ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । रनरेटमा आर्मीलाई समान ७ अंकको मधेशले पछि पारेको हो ।
पराजित कर्णालीको भने समान खेलबाट ३ अंक रहेको छ ।
