एफए कप

सिटी र प्यालेस क्वार्टरफाइनलमा, टोटनहम बाहिरियो

लन्डन । पिटरबर्गमाथि २-० को जितसहित म्यानचेस्टर सिटी मंगलबार एफए कपको क्वार्टरफाइनल प्रवेश गरेको छ । 

खेलमा बलियो पकड बनाए पनि सिटीलाई च्याम्पियनसिप टोलीविरुद्ध जित हात पार्न संघर्ष गर्नु परेको थियो ।

६०औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई खेलमा अघि बढाएका थिए । महारेजले फिल फोडिनको पासलाई जाली चुमाएका थिए ।

 त्यसको सात मिनेट पछि नै ज्याक ग्रिलिसले सिटीको अग्रता दोब्बर पारेका थिए । ग्रिलिसको गोलमा पनि फोडिनले पास उपब्ध गराएका थिए । 

सिटीले यसै साता इङ्लिस प्रिमियर लिगको खेलमा म्यानचेस्टर युनाइटेडलाई आतिथ्य गर्नेछ । सिटी २७ खेलबाट ६६ अंकसहित शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको लिभरपुल भन्दा ६ अंक बढी हो । लिभरपुलले सिटी भन्दा एक खेल कम खेलेको छ ।

त्यस्तै क्रिस्टल प्यालेसले स्टोकलाई २-१ ले हराउँदै प्रतियोगिताको क्वार्टरफाइनलको टिकट पक्का गर्दा टोटनहम भने मिडल्सब्रोसँग १-० ले स्तब्ध हुँदै बाहिरिएको छ । 

एक सय मिनेटमा जस कोबर्नले गरेको गोल मिडल्सब्रोको जितमा निर्णायक बन्यो ।